STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सडक अतिक्रमणको चपेटामा नेपालगञ्ज

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मापदण्डविपरीत सडक अतिक्रमण बढेको छ । चारलेन सडकको बिपी–गणेशमानचोकदेखि राझाँसम्म तथा भित्री सडक सदरलाइनमा व्यापारीले फुटपाथमा सामान राखेर अतिक्रमण गर्दै आएका छन् । सडकको किनारमा रहेको फुटपाथ पैदलयात्रीका लागि आवतजावत गर्ने ठाउँ भए पनि त्यो क्षेत्रलाई अहिले अधिकांश स्थानमा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने गरिएको पाइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले समेत अतिक्रमणकारीलाई साथ दिएको स्थानीयवासीको गुनासो छ । अतिक्रमण हटाउने अभियानमा उपमहानगरपालिकाले सहयोग र समन्वयका लागि अनुरोध गरेको जानकारी दिँदै सङ्घका अध्यक्ष नन्दलाल वैश्यले फुटपाथ तथा सडक अतिक्रमणमा आफूले सहयोग गर्ने उल्लेख गर्नुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सडक तथा फुटपाथ अतिक्रमण गरी व्यापार व्यवसाय गर्दै आएकालाई सूचना जारी गरिसकिएकाले अब सडक तथा फुटपाथमा राखिएका ठेला तथा पसलहरु जफत गरिने बताउनुभयो । “हामीले धेरै पटकसम्म सडक अतिक्रमण गरी पसल तथा ठेला नलगाउन अनुरोध गर्दै आउँदासमेत अटेरी गरेको हुँदा अब जफत भएका कुनै पनि सामान फिर्ता हुनेछैन”, उहाँले भन्नुभयो, “अतिक्रमणले फुटपाथमा हिँड्ने पैदलयात्रीलाई असुविधा भएकाले यस्तो अभियान चाल्न बाध्य भएका हौँ ।” गत वर्ष उपमहानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर फुटपाथ हटाउने प्रयास गरेको थियो । फुटपाथ अतिक्रमण गरेर व्यापार गर्दै आएका बिपीचोक र पुष्पलालचोक क्षेत्रका व्यापारीले उपमहानगरपालिकाको उक्त कदमको विरोध गरेपछि व्यापारीको विरोधपश्चात उपमहानगरपालिका हच्किएको थियो । फुटपाथ खाली गर्न सर्वपक्षीय र सर्वदलीय बैठकले नै सहमति दिएको थियो । चारलेन सडकको दायाँबायाँ २५ मिटरभित्र अहिले पुनः अस्थायी संरचना राखिएका कारण सडक दुर्घटनासमेत बढेको ट्राफिक प्रहरीका नायब निरीक्षक भीमराज वलीले बताउनुभयो ।
Categorized in राष्ट्रिय