STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सत्तरी वर्षमा घरमै नागरिकता

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

शिवालय गाउँपालिका–४ की ७० वर्षीया देउमती बुढाले नातिको सहारामा लौरी टेक्दै गाउँपालिकाको प्रशासकीय केन्द्र एैरेलीबाट नागरिकता पाउनुभएको छ । जिन्दगीका सात दशक पुगेपछि नागरिकता पाएर उहाँले अब भोट हाल्ने चाहना पूरा भएको बताउनुभयो । “भोट नै हाल्न नपाएर मरिन्छ कि जस्तो लागेको थियो, अब केही वर्ष बाँचे भने भोट र वृद्धभत्तासमेत पाउने भएँ”, उहाँले भन्नुभयो, “स्थानीय सरकार गाउँमै गठन भएपछि मैले नागरिकता पाएँ, छोराछोरी सबैको नागरिकता थियो, मतदान गर्नेदेखि सबै काम नागरिकताबाट गर्थे, मेरो केही नभएकाले सबै कुराबाट वञ्चित थिएँ ।” जिल्लाको पश्चिम क्षेत्रमा पर्ने शिवालय गाउँपालिकामा चैत २४ गतेदेखि बृहत् घुम्ती शिविर शुरु भएको छ । त्यहाँ नागरिकता, उद्योग दर्ता, फोटोसहितको मतदाता नामावली सङ्कलन सबै शुरु भएको छ । सदरमुकाम आउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका ठूलो सङ्ख्यामा रहेका स्थानीयवासीले नागरिकताको प्रमाणपत्रका साथै फोटोसहितको मतदाता नामावली भरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो बस्ती विकट छ, सदरमुकाम जान दुई दिन लाग्छ, सजिलै वृद्धवृद्धा सदरमुकाम गएर आउनसक्ने अवस्था नभएकाले जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा बृहत् शिविर सञ्चालन गरेर जनताको घरदैलोमा सेवा प्रवाह गरिएको छ ।” टेलिफोन सेवाको राम्रो पहुँच नभएको यो क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा सूचना दिन र लिन सधैँ हम्मेहम्मे हुने गर्दछ । नागरिकताकै कारण जिन्दगीभर सरकारी सेवा लिन नपाएका स्थानीयवासी नागरिकता पाएपछि सरकारी सेवा पाउने अवसर मिलेको भन्दै खुशी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले टेलिफोनमार्फत जानकारी दिनुभयो । बृहत् शिविर भएको ठाउँमा सेवा लिन आउने स्थानीयवासीको बाक्लो भीड रहेको भन्दै उहाँले भन्नुभयो, “हामीले अधिकांश स्थानीय तहमा सबै प्रकारका सेवाप्रवाह गर्ने उद्देश्यले काम गर्दै आएका छौँ, तर शिविर सञ्चालन गरेको ठाउँमा नागरिकता लिनेको सङ्ख्या ठूलो रहेछ, धेरै जनता नागरिकता पाउनबाट बञ्चित भएको पाइयो ।” जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको सहकार्यमा अहिले जिल्लाका अधिकांश ठाउँमा बृहत् घुम्ती शिविर हुँदै आएको छ । जिल्लाभरिको तथ्याङ्क हेर्दा धेरै मात्रामा जनताले नागरिकता अझै नपाएको पाइएको छ ।
Categorized in राष्ट्रिय