STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ६, मंगलबार

काठमाडौं - सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दुई–दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र) बाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए। कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो।

Categorized in राजनीति