सत्ता समीकरणबारे एमाले, रास्वपा र कांग्रेसको सचिवालय बैठक बस्दै
Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ १८, मंगलबार
काठमाडौं - सत्ता समीकरणबारे छलफल गर्न आज एमालेले सचिवालय बैठक, नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन् ।
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ ।
बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।
सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन ।
रास्वपाको सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । बैठक केहीबेरमा संसदीय दलको कार्यालयमा बस्ने छ ।
बैठकमा बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वापाले जनाएको छ । कांग्रेस र एमाले सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।
देउवाले बोलाए पदाधिकारी बैठक
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।
बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ ।
समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताहरुले हस्ताक्षर गर्ने तयारी छ ।
दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।
छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३/३ वटा सरकार बाँडेका छन् । मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ ।
दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।
Categorized in राजनीति

