STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सभागृहमा भिंतुना सभा सम्पन्न

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ मङ्सिर १, सोमबार

काठमाडौं – कोरोना संक्रमणको कारण सामाजिक दुरीमा बसी नेपाल संवत् ११४१ नववर्ष (न्हूदँ)को भिंतुना सभा (शुभकामना सभा) सभागृहमा सम्पन्न भएको छ ।

सभामा नेपालको राष्ट्रिय गीत, नेवारहरुको राष्ट्रिय गीत एवं जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित शुभकामना गीतबाट स्वागत गरिएको थियो भने सांस्कृतिक बाजाले उपस्थितिलाई स्वागत गरिएको थियो ।

नेपाल सरकारको प्रतिनिधित्व गरी आएका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सभामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, पूर्वमन्त्रीद्वय भीमसेनदास प्रधान र तीर्थराम डंगोलको उपस्थिति रहेको थियो ।

काठमाडांैंका मेयरले स्वागत मन्तव्य दिँदै नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको पूर्णकदमको शालिक तयार भइसकेको र यही मंसिर ६ गते अनावरण गरिने जानकारी दिएका थिए । उनले शंखधर साख्वाःको शालिकसँगै नेपालभाषा एवं नेपाल संवत् आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको पनि शालिक तयार भइसकेको र सोही दिन अनावरण गरिने बताएका थिए ।

प्रमुख अतिथि मन्त्री श्रेष्ठले नेपालको परिचय बोकेको नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकेपछि यसलाई सम्मानजनक व्यवहारमा पनि प्रयोगमा ल्याउने बताएका छन् । श्रेष्ठले तिथि थपघटको कारण वर्षेनी तिहार मनाउन गडबडी भइरहेकोमा सम्बन्धित सबैको छलफलबाट आउँदो वर्षदेखि यस्तो नहोस् भन्ने विचार राखेका थिए । यसैगरी मन्त्री श्रेष्ठले नेपाल संवत्को न्हूदँ मनाउन आर्थिक व्यवस्थाको लागि अक्षयकोष राख्नुपर्ने सुझावसमेत दिएका थिए ।

न्हूदँ समारोह समितिका अध्यक्ष रमेश महर्जनको सभापतित्वमा सभा सम्पन्न भएको थियो ।

कार्यक्रममा समारोह समिति सचिवालय सदस्य उमेश स्थापितले राष्ट्रपति विद्या भण्डारीबाट पठाइएको शुभकामना सन्देश सुनाएका थिए । यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश सचिवालय सदस्य नानीहेरा महर्जनले पढेर सुनाएका थिए ।

कार्यक्रममा समारोह समितिद्वारा प्रकाशित भित्तेपात्रो समेत सार्वजनिक गरिएको थियो ।

समारोह समितिको वार्षिक आयव्ययको विवरण अमृतरत्न ताम्राकारले सुनाएको कार्यक्रममा मचाराजा महर्जनले सबैका धन्यवाद ज्ञापन गरेका थिए ।

 

Categorized in राष्ट्रिय