STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सभामुखमा एमालेका घिमिरे निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ५, बिहिबार

काठमाडाैं - प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा १ सय मत खसेको थियो ।

मतदानमा दुई सय ६८ले भाग लिएका थिए । एक जनाले मत दिएनन् । मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गरेका घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरे ।

एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।

विसं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए ।

उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए। हाल उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज पनि छन् । सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।

यसैबीच, प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन यही माघ ७ गते शनिबार हुने भएको छ । आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त जानकारी गराएका हुन्।सार्वजनिक निर्वाचन कार्यसूचीमा शुक्रबार १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने उल्लेख छ ।त्यस्तै, सोही दिन अपराह्न ४ बजेर १५ मिनेटमा उम्मेदवारको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ ।

उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा  प्रारम्भ हुने  प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

Categorized in राजनीति