STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समायोजनामा जाने प्रहरीलाई दुई ग्रेड दिने कि, एक तह बढुवा गर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १२, बिहिबार

मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि ग्रेड मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजना गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल शुरु भएको छ । विधेयकको दफा ७ मा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब ग्रेडमा दुई ग्रेड थप गरी समायोजन गर्ने प्रस्ताव गरिएको छ । सो प्रस्तावको सम्बन्धमा आजको बैठकमा केही सांसदले थप दुई ग्रेडको व्यवस्थालाई नै कायम राख्नुपर्ने र केहीले भने ग्रेडको सट्टा एक तह बढुवा गर्दा उपयुक्त हुने सुझाव दिनुभएको थियो । बैठकमा सांसद जनार्दन शर्मा, दिलेन्द्रप्रसाद बडू, प्रेम सुवाल र नवराज सिलवालले निजामती सेवाका कर्मचारीलाई समायोजन गर्दा एक तह बढुवा गरेझैँ समायोजनमा जाने प्रहरी कर्मचारीलाई पनि निश्चित मापदण्डका आधारमा एक तह बढुवा गर्दा उचित हुने धारणा व्यक्त गर्नुभएको थियो । विधेयकमा भने एक तहको बढुवाले प्रहरीको ‘चेन अफ कमाण्ड’ मा असर पर्ने र राष्ट्रलाई आर्थिक भार पर्ने भन्ने आधार देखाइ तत्काल दुई ग्रेडसम्म दिँदा उपयुक्त हुने व्यवस्थासहित प्रस्ताव गरिएको हो । सांसद सुवालले निजामती कर्मचारीलाई समायोजन गर्दा एक तह बढुवा दिने तर समायोजनामा जाने प्रहरी कर्मचारीलाई किन बढुवा नदिने भनी सो दफामाथि संशोधनसमेत हाल्नुभएको छ । केही सांसदहरुले भने यसअघि कर्मचारीलाई राजनीतिक परिवर्तनका नाममा स्वतः दिएको एक तह बढुवाले कर्मचारी प्रशासन चुस्त हुनुको साटो झन अस्तव्यस्त भएको उदाहरण प्रस्तुत गर्दै विधेयकको ग्रेड दिने व्यवस्थालाई नै कायम राख्नुपर्ने तर्क पेश गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय