STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समुदायबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १०, शुक्रबार

काठमाडौँ महानगरपालिकाले समुदायस्तरबाटै कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउन शुरु गरेको छ । डल्लु आवास क्षेत्रबाट महानगरले सामूहिकरूपमा फोहर व्यवस्थापन शुरु गरेको हो । घरमा काम नलाग्ने सबै कुरा स्थानीयवासीले फोहरको गाडीमा हाल्दा ठूलो परिमाणमा फोहर उत्पादन भइरहेकाले वर्गीकरण थालिएको र तीमध्ये कुहिने फोहरलाई सङ्कलन गर्ने गाडीमा नपठाएर स्थानीयस्तरमै व्यवस्थापन थालिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । “घरघरबाट निस्कने फोहरमध्ये सबैभन्दा ठूलो परिमाणमा कुहिने फोहर हुने गरेको छ,” उहाँले भन्नुभयो, “यिनको स्थानीयस्तरमै व्यवस्थापन गर्न सकिने भएकाले अहिले हाम्रो ध्यान यसमा गएको हो ।” कामपाले परीक्षणका रुपमा डल्लु क्षेत्रमा प्रारम्भ गरेको यो काम आगामी दिनमा अरु वडामा समेत विस्तार गर्दै जाने योजना रहेको प्रवक्ता डङ्गोलले बताउनुभयो । यहाँका ५० घरले एकै स्थानमा फोहर जम्मा गरिरहेका छन् । महानगरले कुहिने र नकुहिने फोहरका लागि फरक–फरक गाडीसमेत व्यवस्था गरेको छ । उहाँले भन्नुभयो, “यसले गर्दा ल्याण्डफिल साइट जाने फोहरको परिमाण कम भएको हामीले पाएका छौँ ।” महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वटा वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएको कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । तीमध्ये कतिपय निजी संस्थाले पनि फोहरको वर्गीकरण शुरु गरेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ ।” काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको छ । सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन् । काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन् । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणसमेत शुरु गरेको छ ।
Categorized in राष्ट्रिय