STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

समूहको सक्रियतासँगै विपन्न महिला आत्मनिर्भर बन्दै

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार

गाउँगाउँमा बचत समूह खुलेपछि सिरहाका दक्षिण सीमावर्ती गाउँ लक्ष्मीपुर पतारी गाउँपालिकाका विपन्न महिला आत्मनिर्भर बन्न थालेका छन् । समूहले विनाधितो न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेपछि दलित तथा विपन्न परिवारले स्वरोजगारमूलक व्यवसाय गरी आत्मनिर्भर बन्न थालेको स्थानीयवासी बताउँछन् ।
लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा पर्सास्थित रहेको नवदुर्गा हरबाचरबा समूहका मञ्जुदेवी राम प्रत्येक वडामा बचत समूह खुलेको र तिनले भनेको बखत सस्तो तथा विनाधितोमा कर्जा दिन थालेपछि गरीबको गर्जो टर्न थालेको बताउनुहुन्छ ।
गाउँमा ‘कृषि बँधुवा मजदुर हरवा, चरवा, कोदर्वा न्यूनीकरण कार्यक्रम’ अन्तर्गत दि फ्रिडम फण्ड सहयोग तथा भवानी एकीकृत विकास केन्द्र सिरहाको आयोजनामा लागू भएको ‘कृषि बँधुवा मजदुर हरवा, चरवा, कोदर्वा न्यूनीकरण कार्यक्रम’ अन्तर्गत नै गाउँगाउँमा बचत समूह खुलेको उहाँले बताउनुभयो ।
राजा हरिसिंदेव हरवा चरवा समूहका अध्यक्ष सुनितादेवी मुखियाले संस्थाबाट विनाधितो ऋण लिएर खुद्रा व्यापार गरी आफ्नो सानो गरीब परिवारलाई पाली छोराछोरीलाई विद्यालय पठाइरहेको बताउनुभयो । उक्त संस्थामा गरीबीको रेखामुनि रहेका महिला आवद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत सञ्चालित आयआर्जनका काम र क्षमता विकास तालीममा सहभागी भएपछि दलित तथा विपन्न वर्गका व्यक्तिको जीवनशैलीमा निकै परिर्वतन आएको पाइन्छ । केही वर्ष पहिलेसम्म गाउँमा नौलो मानिस आउँदा घरको ढोका थुनेर लुक्ने गाउँपालिकाका अधिकांश महिला अहिले त्यस्ता मानिससँग गाउँका समस्या लिएर निर्धक्कसँग बहस गर्न थालेका छन् ।
“कृषि बँधुवा मजदुर न्यूनीकरण कार्यक्रमले नै मेरो आनीबानीमा समेत परिर्वतन ल्याएको हो”, गाउँकै बाबाडिहबार हरवा चरवा समूहका सदस्यसमेत रहनुभएकी जामोदेवी रामले भन्नुभयो, “नत्र नौलो मानिसअगाडि उभिएर आफ्नो नाम भन्न कहाँबाट सक्नु रु कि त ढोका थुनेर लुक्थेँ कि भाग्थेँ ।”
Categorized in उपत्यका