STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारले पूरा हुने र गर्न सकिने सपना देखेको छ ः प्रम

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो । देश बनाउने अठोटको सपना देखेको हो ।” प्रधानमन्त्रीले राति देख्ने सपना नभई देश बनाउने र भविष्य बनाउने सपनाको कुरा वर्तमान सरकारले गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “एक वर्षका लागि के गर्न सकिन्छ, त्यसपछिका वर्षमा के गर्न सकिन्छ, कहाँ पुग्न सकिन्छ भन्ने सपना हो, दिगो विकास लक्ष्य गर्ने सपना हो, संयुक्त राष्ट्र सङ्घले देखेको सपना हो, यो सपना राति देखेको सपना होइन । पूरा हुने सपना हो ।” आगामी आवका लागि प्रस्तुत नीति तथा कार्यक्रमले लोकतन्त्रलाई व्यापक अर्थमा अगाडि बढाउने स्पष्ट पार्दै उहाँले कार्यक्रमले आगामी पाँच वर्ष, दश वर्ष र पच्चीस वर्षपछि कसरी जाने भन्ने स्पष्ट दृटिकोण राखेको बताउनुभयो । संविधानले सामाजिक न्याय र समानताको परिकल्पना गरेको र सोही परिकल्पना पूरा गर्न नीति कार्यक्रम ल्याइएको उहाँको भनाइ थियो । “सामाजिक रुपमा रहेको कमजोरी, पछौटेपन हटाउने काम गरिएको छ । त्यसका निम्ति अनेक प्रकारको साम्प्रदायिक क्षेत्रीय सङ्कीर्णता नभई व्यापक सामाजिक न्याय र समानतामा आधारित सामाजिक न्यायको जगमा उठेको राष्ट्रिय एकता र सबै मिलेर राष्ट्रलाई एक बनाउने विषयलाई नीति कार्यक्रमले लिएको छ ”, उहाँले भन्नुभयो । राष्ट्र निर्माण र समृद्धिका लागि शिक्षा र स्वास्थ्यका क्षेत्रमा नीति कार्यक्रमले जोड दिएको बताउँदै उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रण विकासका निम्ति अपरिहार्य आवश्यकता रुपमा रहेको उल्लेख गर्दै नीति कार्यक्रमका बारेमा अन्योलमा पर्नुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो । कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी कृषि क्षेत्रमा अल्झेको जनसङ्ख्यालाई अन्य काममा लगाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै उहाँले कृषि उत्पादन र उत्पादकत्वको वृद्धि र प्राङ्गारिक कृषि खेतीतर्फ जोड दिइएको बताउनुभयो । कृषिलाई व्यवस्थित र योजनबद्ध ढङ्गले अघि बढाउन गरेको सरकारको प्रयासका कारण यस वर्ष समग्र कृषि क्षेत्र ६ प्रतिशतले बढ्ने देखिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । ‘मेरो सरकार’ प्रधानमन्त्रीले जन्मसिद्ध श्रेष्ठताको विषय ग्राह्य र गरिमा हुने तर जनताद्वारा निर्वाचित संस्था निकायको मान्यता नहुने वा तिनको गरिमा नहुने प्रकारको मानसिकता त्याग्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “जनतादारा निर्वाचित जनप्रतिनिधिमा जुन गरिमा छ, स्वघोषितमा त्यस्तो गरिमा हुँदैन, जननिर्वाचित प्रणाली हामीले लडेर ल्याएका हौँ, जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली हामीले ल्याएका हाँै । राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुभएकामा कुनै आश्चर्य नमान्न आग्रह गर्दै उहाँले राष्ट्र प्रमुखले त्यसो भन्नु अन्तरराष्ट्रिय अभ्यास भएको प्रष्ट्याउनुभयो । प्रतिपक्षी दलका नेताले नीति कार्यक्रमको छलफलमा ‘बेलायती महारानीको जस्तो’ भन्दै राष्ट्रपतिमाथि गरेको टिप्पणी कूटनीतिक रुपमा समेत राम्रो नभएको उल्लेख गर्दैै उहाँले यसले नेपालको विकास साझेदार मुलुकको भावनामा चोट पु¥याएको बताउनुभयो । राष्ट्रपति जस्तो संस्थालाई विवादमा ल्याउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “ राष्ट्रपति राज्य व्यवस्थाको सर्वोच्च सम्मानित संस्था हो, त्यो संस्था साझा हुन्छ, कुन पार्टीले सरकारले नेतृत्व गरेको छ भन्ने फरक विषय हो, राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु कुनै भुल होइन । राष्ट्रप्रमुखले आफूमातहतका सरकारलाई मेरो सरकार भन्नुमा अलमलिनु हुँदैन ।” वर्तमान सरकारलाई प्रतिपक्षले पनि आफ्नै सरकार भने हुने प्रधानमन्त्रीको भनाइ थियो ।
Categorized in राष्ट्रिय