STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सवारी जाँच कार्ययोजना शुभारम्भ

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ११, बुधबार

चितवनमा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को आज शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो । ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानको पहिलो दिन आज भरतपुरको चौविसकोठीमा मोटरसाइकल चालकको बिलबुक र लाइसेन्स चेक गरिएको छ । अभियानलाई कडाइका साथ एक महीनासम्म सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले बताउनुभयो । लाइसेन्स बिलबुक नहुने र नवीकरण नगर्ने, बढी भाडा लिने, निषेधित क्षेत्रमा हर्न बजाउने, सिट बेल्ट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन ९मापसे० लगायत ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई निरुत्साहित गर्न अभियान चलाइएको उहाँले जानकारी दिनुभयो । “दैनिक फरक–फरक क्षेत्रमा अभियान सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो, “बिहान, दिउँसो र रातको समयमा चेकजाँच नियमित चल्नेछ ।” राजधानी काठमाडौँ र पूर्वपश्चिम जाने हजारौँ सवारी साधन चितवन भएर गुड्ने गर्छन् । सवारी साधनको चाप बढेकाले पनि दैनिक हुने दुर्घटनाबाट मानिसको अकालमा ज्यान जाने गरेको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको ११ महीनामा चितवनमा २५३ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १३७ को मृत्यु भएको छ भने ५३३ जना घाइते भएका छन् । जिल्लाको भित्री सडकमा सबैभन्दा धेरै दुर्घटना भएको गिरीले बताउनुभयो । उहाँले मोटरसाइकल धेरै दुर्घटनामा पर्ने गरेको जानकारी दिनुभयो । एघार महीनामा कार्यालयले रु दुई करोड ८० लाख नौ हजार ५०० राजश्व सङ्कलन गरेको छ । चितवनमा ट्राफिक जनशक्तिको अभावमा प्रभावकारी काम गर्न समस्या परेको ट्राफिक प्रहरीको गुनासो छ । एकतीस जनाको दरबन्दी रहेको चितवनमा बढ्दो सवारीसाधनको चापअनुसार एक सय ट्राफिक आवश्यक पर्ने प्रमुख गिरीले बताउनुभयो । ९तस्वीर संलग्न छ०
Categorized in राष्ट्रिय