सांसद छन्त्यालको निधन • संसदमा शोक प्रस्ताव पारित
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १७, बुधबार
सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । छन्त्यालको आज बिहान निधन भएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले जानकारी दिनुभयो ।
लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौँस्थित गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो । काँग्रेसका तर्फबाट समानुपतिक सांसद उहाँ दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।
प्रतिनिधिसभाको आजको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकले उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
यसैगरी राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । स्व छन्त्यालप्रति श्रद्धाञ्जली व्यक्त गर्न एक मिनेट मौनधारणसमेत गरिएको थियो । बैठकले छन्त्यालको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते दिउँसो १ बजे पुनः बस्नेछ ।
Categorized in राजनीति