STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साक्षर तह घोषणा गर्ने प्रतिबद्धता

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

नयाँ वर्षको शुरुआतसँगै स्थानीय तहका जनप्रतिनिधिले यही वर्षभित्र आफ्नो क्षेत्र साक्षर घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा बुधबार धुलिखेलमा आयोजित साक्षर नेपाल वर्ष–२०७६ सम्बन्धी सरोकारवाला अभिमुखीकरण कार्यक्रममा उहीहरुले साक्षर पालिका घोषणा गर्ने तयारी भइरहेकाले केही महीनाभित्रै घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले भन्नुभयो, “हामी अब एक÷दुई महीनामा साक्षर गाउँपालिका घोषणा गर्ने तयारी गर्दैछौँ ।”
 
जिल्लास्थित शिक्षा विकास तथा समन्वय केन्द्रले गत वर्ष कात्तिकमा काभे्रपलाञ्चोक साक्षर जिल्ला घोषणा तयारी गर्ने कार्यक्रम तय गरे पनि सो समयसीमाभित्र कुनै पनि स्थानीय तहले साक्षर पालिका घोषणा नगर्दा साक्षर जिल्ला घोषणा कार्यक्रम निर्णयमा मात्रै सीमित बन्न पुगेको थियो । जिल्लाका १३ स्थानीय तहमध्ये हालसम्म मण्डनदेउपुर नगरपालिका, धुलिखेल नपा, बनेपा नपा र खानीखोला गाउँपालिकाले मात्रै साक्षर पालिका घोषणा गरेका छन् ।
 
कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले समन्वय केन्द्रले छोटो समयसीमा दिएर घोषणा गर्न दबाब दिएको उल्लेख गर्दै केही महीनामै घोषणा गर्ने बताउनुभयो । “दिएको समयभित्र गर्ने हरदम प्रयास ग¥यौँ, तर विकटताका कारण अलि ढिला भएको हो, अब घोषणाकै तयारीमा छौँ”, उहाँले भन्नुभयो ।
 
भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले आफ्नो पालिकामा कति साक्षर छन् भन्नेबारे तथ्याङ्क सङ्कलनका काम बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “साक्षरता तथ्याङ्क सङ्कलन गर्दैछौँ, साक्षर हुन बाँकीलाई यही वर्षभित्र साक्षर बनाएर घोषणा गर्नेछौँ ।” तेमाल गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले पनि केही महीनाभित्रै साक्षर पालिका घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी घोषणाकै तयारीमा छौँ ।”
 
शिक्षा विकास तथा समन्वय केन्द्र प्रमुख डिकबहादुर राईले स्थानीय तहले समयसीमासम्म साक्षर पालिका घोषणा नगर्दा गतसाल साक्षर जिल्ला घोषणा गर्न नसकिएको बताउनुभयो । उहाँले जिल्लामा २०७५ असार मसान्तसम्ममा ९६ दशमलव ३५ प्रतिशत साक्षर भइसकेको जानकारी दिनुभयो । सबै स्थानीय तह साक्षर तह घोषणा भइसकेपछि साक्षर जिल्ला घोषणा गर्ने योजना बनाइएको छ । 
मानव स्रोत विकास केन्द्रका उपनिर्देशक दीपक शर्माले स्थानीय तह तथा जिल्ला तहमा ९५ प्रतिशत साक्षरता जनसङ्ख्या हुँदा साक्षर घोषणा गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “साक्षरता घोषणा गर्न अब स्थानीय तह आफैँ जागरुक बन्नुपर्छ ।” उहाँले साक्षर नेपाल वर्ष २०७६ सफल बनाउन सरोकारवालासँग आग्रह गर्नुभएको छ । साक्षर नेपालपछिको परिकल्पनामा १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली साक्षर भएका हुनेछन्, २०७८ को जनगणनादेखि शैक्षिक महलअन्तर्गत निरक्षरको गणना गरिनेछैन, मानव विकास सूचाङ्कमा नेपालको स्तर अभिवृद्धि भएको हुनेछ, लगायत उल्लेख गरिएको छ । 
Categorized in राष्ट्रिय