STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो । यस गाउँपालिकाभित्र २८ विद्यालय छन्, जसमा एक निजी र २७ सामुदायिक विद्यालय रहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिनुभयो । “कूल २८ विद्यालयमध्ये १६ प्राथमिक, पाँच आधारभूत र सात माध्यमिक विद्यालय छन्”, दाहालले भन्नुभयो, “लगभग दुई हजार २०० बालबालिका यहाँको सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन्, जसमा छात्रभन्दा छात्राको सङ्ख्या बढी छ ।” “गाउँपालिकाभित्र कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट बाहिर छैनन्, सोही आधारमा सबै बालबालिका विद्यालयमा आएको घोषणासमेत भइसकेको छ”, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरीले भन्नुभयो, “यहाँभित्र दुई स्रोतकेन्द्र छन् । यहाँका पाँच विद्यालयमा विद्यार्थी सङ्ख्या एकदमै कम छ ।” उहाँका अनुसार विद्यालय उमेरका विद्यार्थी नभएका कारण टुंगुन प्राविमा सात, चनदेवी प्राविमा छ, रिङ्गीन प्राविमा १८, नमूना प्रावि र बाल प्राविको आँकडा अति निराशाजनक छ भने जनजागृत प्राविमा विद्यार्थीनै छैनन् । यी विद्यालयलाई अन्य विद्यालयसँग समायोजन गर्न शिक्षा शाखाले सम्बन्धित वडा कार्यालयको राय सल्लाह माग्नुका साथै थप स्थलगत अध्ययनसमेत गरिरहेको छ । वस्तुगत अवस्थाका आधारमा विद्यालय समायोजन गर्ने, सार्ने अर्थात् बन्द गर्ने कुन रणनीति अपनाउँदा राम्रो हुन्छ सोही उपाय अपनाई जेठको अन्तिमसम्म यी विद्यालयलाई के गर्ने भन्ने टुङ्गोमा पुर्‍याइने बताइएको छ । यस वर्ष गाउँपालिकाबाट आधारभूत तह उत्तीर्ण कक्षाको परीक्षा कूल १६६ विद्यार्थीले दिएका छन् । त्यसमा १४८ विद्यार्थीले डी प्लस वा सो भन्दा माथिको अङ्क हासिल गरेका छन् । पुरीले थप्नुभयो, “निजी विद्यालयका सबै बालबालिका एकैसाथ उत्तीर्ण भए भने सामुदायिक विद्यालयका १८ विद्यार्थीलाई परीक्षा समितिको निर्णयअनुसार बढीमा सबै विषय गरी कूल ३५ अङ्क थपेर पूरक परीक्षामा उत्तीर्ण गराइसकेका छौँ ।” यसैगरी गाउँपालिकाले विद्यालयमा लागू गर्ने वार्षिक कार्यतालिका तयार पारिसकेको छ । मासिकरूपमा विद्यालय र शिक्षा शाखाले गर्ने कामको विवरण, शैक्षिक सरोकारवालाले विद्यालय शिक्षामा अवलम्बन गर्नुपर्ने अपेक्षित कार्यशैली, विद्यालय सुधारको मार्गचित्रमा बालबालिका र सबै सरोकारवालाको भूमिका, उत्पेरक वाक्यांश, शैक्षिक तथ्याङ्क, विभिन्न समितिको नामावली, विद्यालयका विभिन्न शैक्षिक झलक र विद्यालय व्यवस्थापन समितिले स्थानीय अनकूलताअनुसारको बिदा दिने प्रावधान जस्ता सबै कुरालाई शैक्षिक क्यालेन्डरमा समावेश गरिएको आधारभूत तहका स्रोत व्यक्ति योगनिधि तिमल्सिनाले जानकारी दिनुभयो । “यस गाउँपालिकाले ३३ बुँदे निर्देशिका जारी गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग गरेको छ”, तिमल्सिनाले भन्नुभयो, “यहाँ रहेका २७ सामुदायिक विद्यालयमा कूल १७६ शिक्षक छन् ।”
Categorized in राष्ट्रिय