सार्वजनिक जग्गाको संरक्षण गर्न माग
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २५, बुधबार
राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालले देको महत्वपूर्ण क्षेत्रको जग्गा तथा आवास क्षेत्र नै भूमाफियाको कब्जा भएकामा चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्ति रोक्न सरकारलाई विशेष पहल गर्न माग गरेको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा देशको भूमिमाथिको अव्यवस्थाका कारण नेपालका गरीब जनता सुरक्षित आवास नै नपाउने स्थितिमा रहेका र देशको महत्वपूर्ण जग्गा तथा गुठीका जग्गा भूमाफियाको नियन्त्रणमा पुगेकाले भूमि व्यवस्थापन जटिल बन्न गएको मञ्चले जनाएको छ ।
बालुवाटारको जग्गा बिक्री हुनु र राजधानीको नै खुलामञ्च कब्जा हुनु सार्वजनिक जग्गा संरक्षणमा चुनौती थपिएको मञ्चका अध्यक्ष सरस्वती सुब्बाले बताउनुभयो । उहाँले देशमा खेतीयोग्य जमीन तथा देवीदेवताको गुठीको जग्गा र सरकारको स्वामित्वमा रहेको जग्गा सुरक्षित हुनुपर्नेमा जोड दिँदै त्यस्तो जग्गा खोजी गर्न सरकारलाई आग्रह गर्नुभयो । मञ्चका निवर्तमान अध्यक्ष ल्यामबहादुर दर्जीले मञ्चले बाँके, बर्दिया, नवलपरासी आदि क्षेत्रमा गरिएको अनुगमन तथा खोजबीनका क्रममा उत्पादनयोग्य जमीन पुराना प्रधानपञ्चको हातमा पुगेको पाइएको बताउनुभयो ।
उहाँले गाउँघरका राम्रा तथा खेतीयोग्य जमीनको खोजिनीतिलाई अघि बढाउनुपर्ने र वास्तविक किसान तथा गरीब जनताले जमीन नपाएको उल्लेख गर्दै उनीहरुलाई आश्रयको व्यवस्था गर्नुपर्ने बताउनुभयो । भूमि व्यवस्थापनमा लामो समयदेखि लाग्नुभएका समाजसेवी धर्मराज जोशीले मञ्चले भूमि रक्षाका लागि देशभरी नै खबरदारी गर्दै आएको र ३२ जिल्लामा मञ्चले आवास क्षेत्रको व्यवस्थापन तथा भूमि सुरक्षाका लागि जनचेतना बढाउने काम गर्दै आएको बताउनुभयो ।
Categorized in राष्ट्रिय