STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साल्ट ट्रेडिङकाे ५३औँ वार्षिक साधारणसभा सम्पन्न, कुल मुनाफा ७३ करोड

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १, बुधबार

काठमाडाैं – साल्ट ट्रेडिङ कर्पोरेसनलिमिटेडले आफ्ना शेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

कम्पनीकाे मंगलबार बसेकाे ५३औँ वार्षिक साधारणसभाले यस वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांशबापत १५ कराेड ३५ लाख ७ हजार ५ सय ८० र ३८ कराेड ३९ लाख ३ हजार ९ सय ५० रुपैयाँबराबरको २५ प्रतिशत बोनस शेयर गरी साे परिमाणकाे लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे ।

साधारणसभाले ५३औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल असार मसान्तसम्मको कम्पनीको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेसनले गरेका विभिन्न क्रियाकलापका बारेमा छलफल एवं समीक्षा गरी आगामी दिनमा अझ बढी प्रभावकारी ढंगले अगाडि बढ्न मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । 

कम्पनीले गुणस्तरीय वस्तुहरूको कारोबार गरी आमउपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरूको सरल र सहज आपूर्ति गरी सामाजिक उत्तरदायित्व वहन गर्दै आ.व. २०७५।०७६ मा ८ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार गर्न सफल भई कुल मुनाफा ७३ करोड १४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको बताइएकाे छ । 

विगत वर्षमा कर्पोरेसनले आयात गरेको चिनीमध्ये २ हजार ५ सय मे.टन चिनी भन्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भन्सारमै रोकिएका कारण चिनीको कारोबारमा कमी एवं भन्सारमा रोकिएका कारण डेमरेज चार्जबापत तिर्नुपरेको रकमका कारण आर्थिक भार पर्न गएको कम्पनीले बताएकाे छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजारसमेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेसनले विश्वसनीय र गुणस्तरीय सेवा पुर्‍याउँदै आफ्नो कारोेबारमा सकारात्मक सुधारसहित अगाडि बढेको कम्पनीकाे भनाइ छ ।

लकडाउनमा समेत कर्पोरेसनले अत्यावश्यक वस्तुको आपूर्ति सहज रूपमा होस् भन्ने हेतुले आफ्ना बिक्री कक्षमार्फत र डेलिभरी भ्यानमार्फत टोलटोलमा अत्यावश्यक सामानहरू उचित मूल्यमा उपलब्ध गराई आफ्नाे उत्तरदायित्व वहन गरेकाे दाबी पनि गरेकाे छ ।

Categorized in बिजनेस