साहित्यकार अपर्णा प्रधानको नयाँ पुस्तक विमोचन
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र २३, आइतबार
साहित्यिक क्षेत्रमा समालोचक तथा लेखक को रुपमा परिचित अपर्णा प्रधानका तीन वटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । नेपालभाषाको लघुकथा संकलन ‘खुसि अःखतं न्ह्याइ’, निबन्ध संकलन ‘सुकुन्दा’ तथा समालोचना संकलन ‘नेपालभाषाया बाखं विधाय् बाखंमि यज्ञरत्न धाख्वाः’ नामक पुस्तक विमोचन गरिएको हो । काठमाडौंको टेकुमा विमोचन भएको पुस्तक समेत गरेर प्रधानले नेपालभाषा, नेपाली र अंग्रेजी भाषामा रचना गर्नुभएको पुस्तकको संख्या ३७ वटा पुगेको छ । ती मध्ये ३४ वटा मौलिक, दुई वटा नेपाली भाषामा अनुवाद गरिएका आत्मकथा र एउटा अंग्रेजी भाषाको आत्मकथा छन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले साहित्य श्रीवृद्धि गर्ने क्षेत्रमा असाधारण योगदान दिएकी समालोचक प्रधान र ३३ वर्षदेखि साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको कुतः पिकाकको प्रशंसा गरेकी छन् । ‘एउटै किताब निकाल्नु पनि सजिलो विषय होइन । किताबको लागि लेख, रचना तयार गरेर अन्य थुप्रै काम गर्नुपर्ने हुन्छ । तर समालोचक अपर्णा प्रधानले ३७ वटा किताब तयार गर्नुभयो ।’ उपप्रमुख डंगोलले बताइन् । हुनपनि केही वर्षको अन्तरालमा दुई भन्दा बढी संख्यामा किताब तयार गरेर एउटै मञ्चबाट विमोचन गराउने साहित्यकारको छवि प्रधानले बनाएकी छन् ।
त्यस्तै, आख्यानकार मथुरा साय्मिले नेपालभाषाको साहित्य क्षेत्र व्यावसायिक हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे । स्रस्टाको रचनालाई कदर गर्न र साहित्यकारलाई प्रोत्साहन गर्न पुस्तक किनेर पढ्नुपर्नेमा उहाँले जोड दिए । ३७ वटा किताब रचना गरेर साहित्य क्षेत्रमा असाधारण योगदान गरेकी समालोचक अपर्णा प्रधानलाई राष्ट्रियस्तरको सम्मान दिनुपर्ने साय्मिको भनाइ थियो ।
कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाः, महासचिव डा. पुष्पराज राजकर्णिकार, समाजसेवी कृष्णलाल प्रधान, निबन्धकार पूर्ण ताम्राकार, विमल ताम्राकार, सुलोचना मानन्धर, जलेश्वरी श्रेष्ठ, पद्मावती सिंह, हितकरवीर कंसाकार, छत्र बहादुर कायस्थ, घनश्याम राजकर्णिकार, प्रवीण जोशी लगायतको सहभागिता थियो ।
केके मानन्धर ।
Categorized in साहित्य-कला

