STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिंहध्वाका दरबार पुनःनिर्माण मल्लकालीन शैलीमै बनाउन माग

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २२, बुधबार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार राष्ट्रिय कला सङ्ग्रहालय रहेको लाल बैठकसहितको भवन मल्लकालीन शैलीमै तत्काल पुनःनिर्माण गर्न माग गर्नुभएको छ ।

    नगर प्रमुख प्रजापतिले आज पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ५५ झ्याले दरबारसँगै जोडिएको सिंहध्वाखा दरबार पुनःनिर्माण गर्दा सङ्कलन भएका पुराना प्रमाणका आधारमा मल्लकालीन शैलीमा नै पुनःनिर्माण कार्य तत्काल अगाडि बढाउन आग्रह गर्नुभएको हो ।

    महाभूकम्पले क्षति पु¥याएको दरबारको पुनःनिर्माण हालसम्म पनि अगाडि नबढ्दा भक्तपुर दरबार क्षेत्र नै अशोभनीय र जोखिमपूर्ण देखिएको हुँदा उक्त दरबार पुनःनिर्माण कार्य छिटोभन्दा छिटो अगाडि बढाउन उहाँले निर्देशक गौतमलाई लिखितरुपमा पत्र दिएरै आग्रह गर्नुभएको हो । भक्तपुर नपा वडा नं ७ बाट चोरी भएको वीरभद्रेश्वर मन्दिरभित्रको पार्वतीको मूर्ति शीघ्र यथास्थानमा स्थापना गर्न भक्तपुरलाई उक्त मूर्ति फिर्ता पठाउन पनि उहाँले आग्रह गर्नुभयो ।

    महानिर्देशक दामोदर गौतमले सिंहध्वाखा दरबार मल्लकालीन शैलीमा नै पुनःनिर्माण गर्न युनेस्को प्रधान कार्यालय पेरिसबाट हालसम्म अनुमति प्राप्त नहुँदा उक्त पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । यसको पुनःनिर्माण अगाडि बढाउन भक्तपुर नगरपालिका, पुरातत्व विभाग र युनेस्कोबीच थप छलफलको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

Categorized in उपत्यका