STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १७, आइतबार

कारागारमा जेल जीवन बिताइरहेका दर्जनाँै कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने गरेका छन् । क्षमताअनुसारको सीप सिकेर अहिले कारागारभित्र कमाई गरिरहेको कैदीबन्दी दीर्घबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी तीन दर्जन साथी, एकापसमा मिलेर घरेलु वस्तुहरु उत्पादन गरिरहेका छौँ, कैद भुक्तानीभन्दा पनि कारखानामा काम गर्न आएजस्तो भएको छ ।” दीर्घजस्तै कारागारमै दलबहादुर लुहार दराजको डिजाइन गराउँदै अन्य साथीलाई काममा लगाउँछन् । दीर्घ भन्नुहुन्छ, “दराज र टेवुल बनाउने काममा व्यस्त मात्र होइन नयाँ, नयाँ डिजाइन दिएर बजारमा हामीले उत्पादन गरेका वस्तुको माग बढाउने कुरा सोच्ने गरेका छौँ ।” दैनिक कारागारमा इच्छाअनुसारका पटुका, पछ्यौरा, झोला, टोपीहरु उत्पादन हुने गरेका छन् । कारगारका कैदीबन्दीले मुढा, फेरे, मफलर, स्वीटर, झोला, डाइनिङ टेबुल, दराज, सल, टोपी, लिउ, लेस र डालीलगायत दर्जन बढी घरेलु सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । धागो, उन, बाँस, चोयो, काठ, प्लाइउड, प्लास्टिक डोरी, भेडाबाख्राको ऊनलगायत कच्चा पदार्थको प्रयोगबाट विभिन्न घरेलु सामग्री निर्माण हुने गरेको कैदीबन्दी बताउँछन् । कारागारमा कैदीबन्दीले निर्माण गरेका सामग्रीमध्ये मुढा रु ३०० देखि रु एक हजार ३००, डाइनिङ टेबुल रु १५ हजार, टोपी, डाली रु ५०० देखि ९०० मा बिक्री हुने गरेको छ । त्यस्तै सल रु एक हजारदेखि एक हजार ५००, लिउ रु पाँच हजारदेखि १० हजार र झोला रु ५०० देखि एक हजारसम्ममा बिक्री हुने गरेको जेलर तेजविक्रम शाहले बताउनुभयो । कारागारमा उत्पादन हुन थालेपछि खलङ्गा बजारका स्थानीयवासीले नेपालगञ्ज, सुर्खेतलगायत बजारबाट आपूर्ति हुने मुढा किन्न छाडेको जेलर शाहको भनाइ छ । जेल जीवन भन्ने बित्तिकै दिक्कलाग्दो होला भनेर सोच्ने कुनै समय थियो होला, अहिले सीप सिकेर उद्यमी बन्ने र जीवन निर्वाह गर्ने आधार तय गर्ने स्थान भएको बन्दी पौरख मल्लले बताउनुभयो । “कारागारमा विभिन्न थरिका किताब राखिएको छ, पढ्न, लेख्न जान्ने साथी पढ्दै ज्ञान आर्जनसमेत गरिरहनुभएको छ”, मल्लले थप्नुभयो, “अहिले नयाँ–नयाँ किताब बजारमा आउने बित्तिकै कारागारमा पुग्ने र बाहिरबाट साथीसँग भएका किताब मागेरसमेत पढ्ने गरिएको छ ।” अर्का कैदी नीमबहादुर सिंहले भन्नुभयो, “जेलभित्र उत्पादन गरेका वस्तु बिक्रीबाट मासिक रूपमा रु सात हजारभन्दा बढी कमाइ हुने गरेको छ, घरमा हुँदा नसिकेका सीप कारागार आएपछि सिकेको छु ।” बजारमा आफूले उत्पादन गरेका वस्तुले उचित स्थान नपाएको कैदीबन्दीको गुनासो छ । जेलभित्र तालीमको व्यवस्थासँगै उत्पादन गरिएको वस्तुको बजारीकरणमा सहयोग भएमा अझै राम्रो गर्न सकिने कैदीबन्दी बताउँछन् । “स्रोतसाधनको अभावका कारण कैदीबन्दीले सोचेजस्तो सामग्री उत्पादन गर्न समस्या परेको बताएका छन् । २० जनाको क्षमता भएको कारागारमा अहिले ५७ कैदीबन्दी छन्  । नयाँ भवन निर्माण भइरहेकोले छिट्टै त्यहाँ सारेर आर्यआर्जनका कामलाई व्यवस्थित गरिने कारागार प्रशासनले जानकारी दिएको छ । कारागारका कैदीबन्दीलाई नयाँ सीप सिक्नका लागि व्यवस्थापन गरिनुपर्ने मागसमेत उठेको छ ।
Categorized in राष्ट्रिय