STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुँगुरको मासु खाएका थप एक कैदी बिरामीको मृत्यु,

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २७, सोमबार

सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । राईसँगै सँुगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १९ गते दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भइसकेको छ । फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति मृत्यु भएको थियो । मासु खाएर बिरामी भएका चार जनामध्ये अहिले एक जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको कुम्मायक गाउँपालिका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुङ्गानाका अनुसार दशैँ मनाउन कारागारभित्र तीन वटा सुँगुर काटेको र त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन् । मासुमात्र खाने अरु बिरामी नपरेको उहाँको भनाइ छ । मोटरसाइकलको ठक्करबाट घाइते राईको मृत्यु गत असोज १७ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका पाँचथर फिदिम–२ का एक व्यक्तिको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम–२ का दलकर्ण राई रहेका छन् । उनको नोभेल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो । गत असोज १७ गते बा ५२ प ६२०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । ठक्कर दिने मोटरसाइकल चालक फिदिम–४ का विराज राई अहिले प्रहरीको नियन्त्रणमा छन् ।
Categorized in राष्ट्रिय