STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुदूरपश्चिममा आज बुन्नढुनी पर्व मनाइँदै

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १, बुधबार

असोज सङ्क्रान्ति अर्थात् बुन्नढुनी बूढी पोल्ने दिन डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा यो पर्व धुमधामसँग मनाइँदैछ । प्रत्येक वर्ष असोज १ गते सङ्क्रन्तिका दिन, राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा सुदूरपश्चिम प्रदेशमा यो पर्व मनाइने गरिन्छ । यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने ग्वालाले भाद्र सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँझ लिङ्गो आदि रुख काटेर दोबाटोमा गाड्ने र एक महीना पहिले भाद्र सङ्क्रान्तिका अर्थात् भदौ १ गतेका दिन त्यसलाई काँडा र घाँसबाट बनाइएको पुतना राक्षसको आकृति बनाई त्यसमा आगो लगाएर जलाउने चलन छ । द्वापर युगमा राक्षसी पुतना राजा कंशको आदेशले भगवान् कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेका बेला भगवान् कृष्णले थाहा पाई उल्टै राक्षस पुतनाको रगत चुसी मारेर विजयी हासिल गरेको खुशीयालीमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । जासुसी राक्षस पुतना दहनका लागि सबै घर–घरबाट काँस, अमरिसोलगायत पाँच जातको घाँसले बेरेको आगोको राँको बनाएर बूढी पोल्ने ठाउँमा लैजाने गरिन्छ र दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । बूढी पोल्दा लुतो फाल्ने भन्दै स्थानीय युवा काँक्रो चपाउँदै थुक्ने गर्दछन् र समाजमा भएका ठूलाबडा व्यक्तिको नाम पुकार्दै लुतो जैजान भनी नाच्दै रमाउने गर्दछन् । साँझ आकाशमा तारा चम्केपछिमात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गाईगोरुलाई र गोठमा पालेका जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक जनविश्वास रहिआएको छ । यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम र बाजुरालगायतका जिल्ला तथा छिमेकी भारतको उत्तराखण्डका कुमाउँ, गढवालमा पनि मनाइने गरिन्छ । बूढी पोल्ने पर्वको अवसरमा जिल्लामा रातभरि सुदूरपश्चिमेलीहरुको लोक संस्कृति डेउडा खेल्ने र काँक्रोलगायतका अन्य फलफूल आपस बाँडीचुडी खाने चलन रहिआएको छ । वर्तमान समयमा भने सुदूरपश्चिमको एउटा चाड बूढी पोल्ने अर्थात् बन्नढुनी पर्वको अस्तित्व लोप हुँदै गएकामा स्थानीयवासी चिन्ता व्यक्त गर्दै रहेको सुदूरपश्चिम डोटेली राज्यका लेखक भोजराज भट्टराईले बताउनुभयो ।
Categorized in राष्ट्रिय