STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २६, बिहिबार

तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् । चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् । “आउँदो माघ महीनाभित्र खानेपानी अयोजनाको काम सम्पन्न हुँदैछ, तेमालको एउटा ठूलो सपना साकार हुनेछ”, तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजीत लामाले भन्नुभयो । विसं २०७२ असार महीनामा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि केही ढिला हुने देखिएको छ । लामाले भन्नुभयो, “द्रुत गतिमा काम भइरहेको छ, तर थोरै ढिला हुन्छ कि, सकेसम्म निर्धारित समयम सक्ने याजनामा पनि छौँ ।” तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । तेमाल बृहत् खानेपानी आयोजना स्थानीयको सुखद् जीवनसँग जोडिएको आधाबाटाका इन्द्र तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “सुनकोशीको पानी भनेको तेमालबासीको जिन्दगानी हो ।” उहाँका अनुसार भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका बासिन्दा विस्थापित हुनेथिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको हो । कूल रु एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९० प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनामा नेपाल सरकारको ९० प्रतिशत, गाउँपालिकाको रु एक करोड र स्थानीय उपभोक्ता प्रतिपरिवार रु एक हजार लगानी रहेको छ । आयोजनाको नदीमा ‘फिल्टर’ गर्ने चारवटा ट्याङ्की र तेमालको वाङबेल डाँडामा चार लाख लिटर क्षमताका दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । ४० हजारदेखि अवस्था अनुकूल दुई लाख लिटर क्षमतासम्मका २३ वटा वितरण ट्याङ्की निर्माणाधीन अवस्थामा रहेका छन् । सङ्घीय ढल तथा खानेपानी आयोजना डिभिजन कार्यालय हेटौँडाका प्रमुख नन्दकुमार बञ्जाडेका अनुसार आउँदो माघभित्र आयोजना सक्नेगरी तीव्र गतिमा काम भइरहेको छ । उहाँले सुनकोशी नदीबाट प्रतिसेकेण्ड २० लिटर पानी मुख्य रिजर्भ ट्याङ्कीमा लिफ्ट हुनेछ भने यसअन्तर्गत प्रतिव्यिक्ति प्रतिदिन ६५ लिटर पानी वितरण गर्न सकिने बताउनुभयो । उहाँका अनुसार आयोजनाको लिफ्टिङका लागि खण्डखण्डमा १३ वटा पम्पले पानी तान्नेछन् । उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका ठूला बस्ती मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूँखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थान, चापाखोरी र मेच्छे तथा नमोबुद्ध नगरपालिकाको दुई वटा वडाका बासिन्दा लाभान्वित हुनेछन् । उहाँका अनुसार आयोजनाको खानेपानी विस्तारका लागि २३ वटा ट्याङ्की, ११ वटा गार्ड घर, एक वटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य एकैसाथ भइरहेको छ । आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका छन् । तेमाल क्षेत्रका बासिन्दा दुई घण्टा पैदलदूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको नारायणस्थानका हेमलाल तामाङले बताउनुभयो । उहाँका अनुसार ठूला बस्तीको बीचमा रहेका केही कुवामा दिनहुँ दुईदेखि ३०० वटासम्म गाग्रीका लाइन लाग्ने गरेको ।
Categorized in राष्ट्रिय