सुनसान गाईजात्रा !
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २०, मंगलबार
काठमाडौँ – यस वर्षको गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका प्रायः सुनसान देखिएको छ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को पहिलो दिन आज विगत वर्षजस्तो रमझम छैन । उपत्यकामा नै कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम बढेकाले कम मानिसमात्र बाहिर निस्किएका छन् । गाईजात्राको बढी रमझम हुने वसन्तपुर दरबार क्षेत्रमा पनि फाट्टफुट्टमात्र झाँकी देखिएका छन् ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
प्रताप मल्लको पालादेखि गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । काठमाडौँ महानगरपालिका–२५ का वडाध्यक्ष नीलकाजी शाक्य आफ्नो जीवनकालमा पहिलोपटक सबैभन्दा सुनसान गाईजात्रा यस वर्ष देखेको बताउनुभयो ।
विगत वर्षका गाईजात्रामा खुला दिलले असन, इन्द्रचोक र वसन्तपुर क्षेत्रका मानिस विगतमा परिवारबाट सबै जना निस्कने गरेकामा यस वर्ष संस्कतिलाई निरन्तरता दिने उद्देश्यले एकदुई जनामात्र निस्केको पनि उहाँले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा सीमित हास्यव्यङ्ग्य
व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशीले विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको जानकारी दिनुभयो ।
हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उहाँको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।
गाईजात्राका अवसरमा विगत वर्षमा यस्ता व्यङ्ग्यात्मक कार्यक्रम पनि एक हप्तासम्म नेपाल प्रज्ञाप्रतिष्ठान, राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृहलगायत स्थलमा धूमधामसाथ गरिन्थ्यो । हास्य कलाकारको सक्रियतामा हुने यस्ता कार्यक्रम हेर्न हजारौँ मानिस टिकट काटेर पुग्थे । कोरोनाका कारण यस वर्ष त्यस्ता कार्यक्रम कतै भएको छैन ।
केही कलाकारले रेडियो, टेलिभिजन, युट्युबलगायत सामाजिक सञ्जालमै यस वर्षको गाईजात्राको व्यङ्ग्यात्मक कार्यक्रम सीमित भएको छ । हास्य कलाकार राजेन्द्र पोखरेलले यस वर्ष स्टेजमै गएर गाईजात्रा गर्दा कोरोना बढ्न सक्ने भएकाले भर्चुअल विधिबाट गरिएको कार्यक्रम एपी१ टेलिभिजनबाट देखाउने गरी तयारी भएको जानकारी दिनुभयो । मनोज गजुरेलको युट्युब च्यानल गजुरियल डट कम र साझा कथाबाट पनि गाईजात्रा कार्यक्रम हुने उहाँले बताउनुभयो ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
विगतदेखि नै उपत्यकामा यस पर्वका अवसरमा बिदा दिइने भएकाले धेरै मानिस गाईजात्रा हेर्न शहरका मुख्य सडकमा निस्कन्थे । तर यस वर्ष सोमबारको जति पनि सवारी चलेका छैनन् । सोमबारमात्र उपत्यकामा कोरोनाका ६२ जना सङ्क्रमित भेटिएका थिए । फेरि कोरोना बढ्दै गएपछि अब के हुन्छ भन्ने जिज्ञासा आम मानिसमा बढेको छ । रासस
Categorized in उपत्यका