STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सूर्योदयका चिया उद्योग श्रम ऐन कार्यान्वयन गर्न तयार

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

चियाको राजधानी सूर्योदय नगरपालिकामा रहेका ५२ चिया कारखाना श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन् । सूर्योदय टी प्रोडयुसर्स एशोसिएसनमा आबद्ध रहेका उद्योगले सरकारसँग २५ बँुदे माग राख्दै श्रम ऐन कार्यान्वयमा ल्याउन लागेका हुन् । एशोसिएसनको गत चैत ३० गतेको बैठकले सरकारसँग केही शर्त राखेर असारसम्म श्रमिकलाई सेवासुविधा दिने जनाएको छ । एशोसिएसनले सरकारसँग राखेको माग पूरा नभए त्यसपछि सरकारी सेवासुविधा कार्यान्वयन गर्न नसक्ने जनाएको छ । सरकारले पछिल्लो समय तोकेको सेवासुविधा पाउनुपर्ने भन्दै चिया श्रमिक आन्दोलित भएपछि मजदुरको आन्दोलनका कारण चिया उद्योगसँगै किसानलाई पनि समस्या भएको भन्दै एशोसिएसनका पदाधिकारीको टोलीले काठमाडौँ पुगेर सरकारसँग २५ बुँदे माग राखेको थियो । ती माग पूरा भए मात्र मजदुरको बढेको सेवासुविधालाई निरन्तरता दिन सकिने एशोसिएसनका अध्यक्ष पुनम राईले बताउनुभयो । सरकारले पछिल्लो समय चिया मजदुरको दैनिक ज्याला रु २३१, महँगी भत्ता रु १५४, खाजाभत्ता रु ४२ तोकेको छ । ज्यालाको १० प्रतिशत सञ्चयकोष, उपदानका लागि आठ दशमलव ३३ प्रतिशत र सामाजिक सुरक्षाकोषमा एक दशमलव ६७ प्रतिशत उद्योगले भुक्तानी गर्नु पर्दछ । यसरी सरकारले तोकेअनुसार सेवासुविधा दिँदा दैनिक रु ४२७ उद्योगले मजदुरलाई भुक्तानी गर्नुपर्दछ ।
Categorized in राष्ट्रिय