सेनाले मनायो २६१ औं स्थापना दिवस
Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २५, शुक्रबार
काठमाडौं- काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो।
राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्।
सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाज लगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन्। मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरूष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका छन्।
नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको छ। जंगीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ।
संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो। हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ। सैनिक दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा शान्ति सैनिक र गाडीहरू समेत प्रदर्शन गरिएको थियो।
Categorized in राष्ट्रिय

