STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सोमबार बिहानसम्म छानबिन समिति नबने कांग्रेसले संसद् अवरुद्ध गर्ने

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ६, आइतबार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बिहान ११ बजेसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।

प्रतिनिधि सभा बैठकपछि आइतबार बेलुकी संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महामन्त्री गगन थापाले सोमबार बिहानसम्म संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेका हुन्। 

‘हामी संसद ठिक ढंग सँग चलोस् भन्ने चाहन्छौँ, संसद ठिक ढंगले चल्नका निम्ति हामी चाहन्छौँ भोलि बिहान ११ बजे संसद बैठक छ। त्योभन्दा पहिला संसदीय छानबिन समिति जुन उद्देश्यका लागि माग गरिएको हो त्यो उद्देश्यका लागि समिति बन्ने गरी सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्री तयार भएर आउनु हुन्छ भन्ने विश्वास पनि राख्छु,’ महामन्त्री थापाले भने, ‘त्यसको आधारमा हो भने भोलि संसदको कामकारबाही अघि बढ्छ। होइन भने संसदको कामकारबाही अघि बढ्दैन।’

उनले यतिका समय गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिइएको भन्दै भाष्य नै निर्माण गरिएको पनि बताए।

‘त्यो च्याप्टर पनि आजबाट सकियो, बोल्नुभयो। उहाँको बोलीको सार के हो भने मेरो बारेमा छानबिन समिति बन्दैन। छानबिन समितिले सबै हेर्न पाउँछ, गोर्खा मिडिया हेर्न पाउँदैन,’ उनले भने, ‘होइन सर, छानबिन समितिले पहिले गोर्खा मिडिया र सूर्यदर्शन कै फाइल पल्टाउँछ।’ 

गल्ती देखियो भने राजनीति छाड्ने नभई सजाय भोग्नुपर्ने उनले बताए। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने सम्भावित कार्यसूची छ।

Categorized in राजनीति