स्थानीय चुनावका लागि ११० दल निर्वाचन आयोगमा दर्ता
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १५, आइतबार
फागुन १५, काठमाडौं - आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले १५ फागुनसम्मको समयसिमा दिएकोमा आइतबारअन्तिम दिनसम्ममा ११० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
तीमध्ये ८० दलले निर्वाचन प्रयोजनका लागि निवेदन दिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यससँगै आयोगले ती दलका मापदण्ड पूरा भएन–भएको छानबिन गर्नेछ । ८० दलमध्ये मापदण्ड पूरा भएका दललाई मात्रै निर्वाचन आयोगले निर्वाचनका लागि स्वीकृति दिनेछ ।
नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता भएका कुनै पनि दलले तोकिएको निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। दल दर्ताका लागि निवेदन दिँदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमुना, कम्तीमा २१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्छ ।
विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता सर्तसहितका कागजातसमेत पेस गर्नुपर्छ ।
राजनीतिक दलको विधानमा दलको नाम, झण्डा, छाप, चिह्न, कार्यालयको ठेगाना, सङ्गठनात्मक संरचना, सदस्यता प्राप्त र गुम्ने अवस्था, केन्द्रीय, प्रदेश र स्थानीय तहको विवरण, महाधिवेशनसम्बन्धी व्यवस्था, बैठक बोलाउने र निर्णय गर्ने कार्यविधिगायतको व्यवस्था उल्लेख हुनुपर्ने व्यवस्था छ ।
दलको कोष, आर्थिक व्यवस्थापन र त्यसका जिम्मेवार पदाधिकारी, उम्मेदवार मनोनयन कार्यविधि, अनुशासन कारबाही र पुनरावेदन सुन्ने संयन्त्र, लेखा परीक्षण, नीति तथा कार्यक्रम निर्माणमा सदस्य तथा तल्ला निकायको सहभागिता, विधान संशोधन, विघटन, नियमावली बनाउने अधिकार, सदस्यता र नवीकरण शुल्कलगायत विषय विधानमै उल्लेख हुनुपर्नेछ ।


