STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्नातकोत्तर तहसम्म छोरीलाई निःशुल्क शिक्षा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १२, बिहिबार

रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचाँै नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६÷७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ । नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा पाँच सय रुपैयाँ थप प्रदान गर्ने बताउनुभयो । लैङ्गिक समानता तथा समावेशीकरणका लागि उपभोक्ता समिति गठनमा ३३ प्रतिशत महिला अनिवार्य गर्नाका साथै प्रमुख पदमा कम्तीमा एक जना महिला हुनुपर्ने नीतिको कार्यान्वयन गरिने नगरप्रमुख थापाले बताउनुभयो । एकल महिलाहरुको क्षमता अभिवृद्धि गर्न विपन्नलाई आय, पीडितलाई न्याय कार्यक्रम अघि बढाइने बताउँदै उहाँले भन्नुभयो, “नगरलाई स्मार्ट सिटीका रुपमा अघि बढाउन संरचनाहरु बालमैत्री, अपाङ्ग एवं ज्येष्ठ नागरिक मैत्री बनाइनेछ ।” प्रत्येक अवस्थामा स्थानीय सरकारको तीन फरक कार्यक्रमको व्यवस्थाअन्तर्गत बालबालिकालाई शिक्षा, स्वस्थ्य, पोषण, युवालाई सीप, उद्यमशीलता र रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षाको प्रत्याभूतिका लागि कार्यक्रम सञ्चालन गर्ने थापाले बताउनुभयो । ज्येष्ठ नागरिकहरु जिउँदो इतिहास भएकाले नगरपालिकाले अनुभव आदानप्रदान गर्न विभिन्न स्थानमा ज्येष्ठ नागरिक मिलन केन्द्र, चौतारो निर्माण तथा लौरी वितरण कार्यक्रम गरिने र बाबुआमा नपाल्ने सन्तानलाई नगरपालिका तथा वडाको सेवासुविधाबाट वञ्चित गरिने नीति लिइने नगरपालिकाले जनाएको छ । आगामी तीन वर्षभित्र अपेक्षा गरिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी नगर, वडा र टोलस्तरीय गौरवका योजना तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्न प्राथमिकताका साथ नगर, प्रदेश र सङ्घमा स्रोतको व्यवस्थाका लागि पहल गर्ने उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । नगरपालिकाले खरको छानोरहित घरका लागि जस्तापाता वितरण, ग्रामीण क्षेत्रमा सडक ट्र्याक खोल्ने, कृषि आधुनिकीकरण, युवा स्वरोजगार, सडक स्तरोन्नतिका योजनासँगै सेवालाई प्रभावकारी बनाई गुणात्मक भौतिक तथा संस्थागत पूर्वाधार तयार गर्ने नीति लिएको छ ।
Categorized in राष्ट्रिय