स्वयम्भू आनन्दकुटी विद्यापीठमा आइसोलेसन निर्माण गरिने
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २४, बुधबार
काठमाडौं – काठमाडौं क्षेत्र नं. ८ स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा आइसोलेसन निर्माण गरिने भएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं संघीय प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले आफ्नो क्षेत्र विकासका लागि छुट्याइएको ४ करोड मध्ये १ करोड ५० लाख ४० हजार रुपैयाँबाट सो आइसोलेसनको निर्माण हुनलागेको हो ।
आनन्दकुटी विद्यापीठको प्रयोगविहीन अवस्थामा रहेको भवनमा ५० बेड क्षमताको आइसोलेसन निर्माण हुने सांसद श्रेष्ठले आज सो क्षेत्रको निरीक्षण भ्रमण गर्दै जानकारी दिनुभएको छ ।
विश्वभर कोभिड–१९ महामारीको दोस्रो लहर चलिरहेको सन्दर्भमा नेपालमा पनि त्यसले प्रवेश पाउन सक्ने अवस्था रहेका कारणले पूर्वतयारीका रुपमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुहुँदै सांसद श्रेष्ठले त्यहाँ हाइफ्लो अक्सिजनसम्मका बिरामी राखिने र कथंकदाचित विरामीलाई गा¥हो परेको खण्डमा डाक्टरको सल्लाह बमोजिम अन्य अस्पतालमा राखिने व्यवस्था रहेको बताउनुभयो ।
पवित्र स्वयम्भू क्षेत्रमा खुल्ला वातावरणमा आइसोलेसनमा बस्न पाउने र त्यहाँ यथेष्ट खुल्ला क्षेत्र भएका कारण आइसोलेसनमा बस्ने व्यक्ति कोठामा मात्रै बस्नुपर्ने अवस्था नरहने सांसद श्रेष्ठले जिकिर गर्नुभयो ।
विरामीहरुको रेखदेखका लागि डाक्टर र नर्सहरुको समेत व्यवस्था गरिने र त्यस्तै अवस्था आएमा ८० बेडसम्म बढाउनसकिने उहाँले बताउनुभयो ।
अहिले जीर्ण रहेको भवनहरु १० दिनभित्र मर्मत सम्भार तथा बिजुली र अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण सकाउने सांसद श्रेष्ठले बताउनुभयो ।
सांसद श्रेष्ठले आफूले छुट्याएको बजेटबाट आनन्दकुटीमा मात्र नभएर आफ्नो क्षेत्रका अन्य सामुदायिक भवन तथा सामाजिक संस्थाहरुमा पनि आइसोलेसन सञ्चालनका लागि प्रयोग गर्न सकिने बताउनुभयो ।
आइसोलेशन सञ्चालनमा रोटरी क्लब, मनाङ्ग क्लबले पनि सहकार्य गर्ने तथा कामपाको पनि पूर्ण सहयोग रहने बताउँदै श्रेष्ठले आइसोलेशनमा बस्नका लागि कुनै शुल्क तिर्नुनपर्ने पनि बताउनुभयो ।
Categorized in उपत्यका


