STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वरोजगार सिर्जना गर्ने योजना प्राथमिकतामा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १९, बिहिबार

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले उत्पादनसँगै स्वरोजगार सिर्जना हुने खालका योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेशसभाको बुधबार पोखरामा बसेको बैठकमा विनियोजन विधेयक, २०७६ को छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले अगाडि सारेका योजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । सरकारले स्वरोजगारका लागि प्रदेशका २७३ होमस्टे ९घरबास० कार्यक्रमलाई प्रभावकारी बनाउन लगभग रु ३० करोड लगानी गरेको बताउँदै उहाँले पर्यटनलाई उत्पादनसँग जोड्ने योजना अगाडि सारिएको जानकारी दिनुभयो । घरबास कार्यक्रमलाई व्यवस्थित बनाउन सरकारले विभिन्न १५१ घरबासका ३११ जनालाई आवश्यक तालीम प्रदान गरेको उल्लेख गर्दै मन्त्री लम्सालले आगामी आर्थिक वर्षका लागि पनि रु २५ करोड विनियोजन गरिएको बताउनुभयो । शून्यबाट शुरु भएको मन्त्रालयले हाल प्रदेशका ११ जिल्लामा विभिन्न ३० निर्देशनालयसहितका कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उहाँले प्रदेश सरकारले दुई उद्योगग्राम र तीन कोसेली घर निर्माण गर्ने तयारी गरिरहेकोमा जोड दिनुभयो । विदेशबाट अनुभव लिएर फर्किएका युवालाई मुलुकमै स्वरोजगर सिर्जना गर्ने लक्ष्यका साथ युवालक्षित चुनौती कोष स्थापना गरिएको उल्लेख गर्दै उहाँले दुई प्रतिशतमा ऋण प्रवाह गरिने उक्त कोषका लागि रु तीन करोड विनियोजन गरिएको बताउनुभयो । सन् २०२० को अन्त्यसम्म पोखरा विमानस्थल निर्माण सम्पन्न भई विदेशबाट सिधै उडान भई दैनिक ४०० भन्दा बढी विदेशी पोखरा आउने विश्वास व्यक्त गर्दै उहाँले व्यवस्थापनका लागि आवश्यक भौतिक संरचना निर्माणमा तीन वटै सरकार र निजी क्षेत्र जुट्नुपर्नेमा जोड दिनुभयो । फेवाताको सिमाङ्कन गर्न ढिलाइ भएका कारण संरक्षणको काम अगाडि बढ्न नसकेको बताउँदै मन्त्री लम्सालले तत्काल प्राविधिक खटाउन सङ्घीय सरकारसँग माग गरिएको जानकारी दिनुभयो । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले हिजोकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक, २०७६ माथि विभिन्न शीर्षकमाथि छलफल शुरु भएको जानकारी गराउनुभयो । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले मेरो भागमा यो र त्यो पुगेन भन्दा पनि बजेटको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता भएको उल्लेख गर्नुभयो । मुस्ताङ जिल्लाको निर्वाचन ९ख० बाट निर्वाचित सदस्य विष्टले प्रस्तुत बजेटले आर्थिक उन्नति एवं पारदर्शितासँगै आत्मनिर्भरतर्पm उन्मुख भएको स्पष्ट देखिन्छ भन्नुभयो । अर्का सदस्य विष्णुप्रसाद लामिछानेले विभिन्न मन्त्रालयमा तालीम र गोष्ठी शीर्षकमा विनियोजन गरिएको रकमको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य विन्दु थापाले विनियोजित बजेटमा प्रदेशको राजधानी पोखरालाई उपेक्षा गरिएको उल्लेख गर्दै असारे बजेटलाई निरुत्साहित गरिनुपर्नेमा जोड दिनुभयो । अर्का प्रदेशसभा सदस्य डिलमाया रोकाहा मगरले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन सरकार र जनप्रतिनिधि जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय