हस्तलिखित ग्रन्थ संरक्षण तालिम सुरु
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २७, सोमबार
काठमाडौं – देशका ठूला पुस्तकालय र अभिलेखालयलाई हस्तलिखित ग्रन्थको सुरक्षण र संरक्षणसम्बन्धी तालिम सुरु भएको छ । जर्मनीको ह्याम्वर्ग युनिभर्सिटीको ‘द सेन्टर फर द स्टडी अफ म्यानुस्क्रिप्ट कल्चर (सीएसएमसी)’ले सो तालिम दिइरहेको हो । यसमा आशा सफूकुथिलगायत राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयका प्रतिनिधिहरुको सहभागिता छ ।
माघ २४ गते शुक्रबार एक कार्यक्रमबीच तालिमको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा सीएसएमसीका निर्देशक माइकल फ्रेडरिकले आजभोलि युद्धग्रस्त देशमा समेत ऐतिहासिक हस्तलिखित ग्रन्थको संरक्षणमा आफूहरु लागेको जनाउँदै यस संरक्षण तालिमपश्चात् नेपालका हस्तलिखित ग्रन्थहरु भोलि विश्वज्ञानको एक अभिन्न अंग हुने विचार राखे ।
पूर्व संस्कृतिमन्त्री एवं आशा सफूकुथि बोर्डका सदस्य ऋद्धिबाबा प्रधानले नेपालको पहिचान नै यहाँको संस्कृति भएको र यसको एउटा अभिन्न अंग हस्तलिखित ग्रन्थ भएकोले यसको संरक्षण अति आवश्यक रहेको बताए ।
राष्ट्रिय अभिलेखालयका निर्देशक शौभाग्य प्रधानाङ्गले नेपालमा पहिलदेखि नै हस्तलिखित ग्रन्थको संरक्षण गर्ने परम्परा रहेको जनाउँदै अबको तालिमले आधुनिक संरक्षणका विधि सिकाउने विचार राखे ।
कार्यक्रममा आशा सफूकुथिका बोर्ड सदस्य निर्मलमान तुलाधर, त्रिविवि केन्द्रीय पुस्तकालयका इन्द्रप्रसाद अधिकारी, डिल्लीरमण कल्याणी रेग्मी मेमोरियल लाइब्रेरी डेभलपमेन्ट बोर्डका प्रमुख इन्दिरा दल, राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।
सीएसएमसी ह्याम्वर्गका डा. विदुर भट्टराईको संयोजनमा भइरहेको यस तालिममा जर्मनीबाट आएका माइकल बिडलले मुख्य प्रशिक्षण दिनेछन् । तालिम १० दिनसम्म हुने जनाइएको छ ।
Categorized in राष्ट्रिय