STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी विष्टलाई

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार

कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जित्नुभएको छ । ‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले रु एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट शुरु भएको दौडका उपाधि विजेता विष्टले एक घण्टा १५ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । यसअघि भीमदत्तनगरपालिकाको आयोजनामा भएको जैविकमार्ग हाफ म्याराथन प्रतियोगितामा पनि विष्टले उपाधि जित्नुभएको थियो । त्यसैगरी महिलातर्फ कञ्चनपुरको भीमदत्तनगरपालिकाको गड्डाचौकीका रेखा चन्दले उपाधि जित्नुभएको छ । हाफ म्याराथनको दूरी रेखाले एक घण्टा ४० मिनेटमा पार गर्नुभएको थियो । उपाधि उचालेसँगै रेखाले पनि रु एक लाख नगदबाट पुरस्कृत हुनुभएको छ । त्यस्तै पुरुष हाफ म्याराथनमा नेपाली सेनाका सुमन महादेन उपविजेता बन्नुभयो । उहाँले एक घण्टा २१ मिनेटमा दूरी पार गर्दै उपविजेता बन्नुभएको हो । उपविजेता भएसँगै सेनाका सुमनले रु ६० हजार नगदसहित पुरस्कृत हुनुभएको छ । स्थानीय लक्ष्मण भण्डारी तेस्रो हुनुभएको छ । उहाँले रु ४० हजारसहित पुरस्कृत हुनुभयो भने प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका सन्तोष बोहरा चौथो भएसँगै रु २० हजारसहित प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो । महिलातर्फ भीमदत्तनगरपालिकाको बागफाँटाका लक्ष्मी बम उपविजेता बन्नुभएको छ । लक्ष्मीले म्याराथनको दूरी एक घण्टा ४३ मिनेटमा पार गर्नुभयो । उपविजेता लक्ष्मीले रु ६० हजारसहित पुरस्कृत हुनुभयो । त्यसैगरी नेपाली सेनाका कविता जनाल र सेनाकै अमृतिनाथ तेस्रो र चौथो हुनुभयो । तेस्रो हुने खेलाडीलाई रु ४० हजार र चौथोलाई रु २० हजार प्रदान गरिएको छ । प्रतियोगिताको उपाधि विजेतालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ भने महिला तथा पुरुष दुवैतर्फ पाँचौँ र छैठौँ हुने धावकलाई रु १०÷१० हजार प्रदान गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष लालबहादुर शाहीले जानकारी दिनुभयो ।
Categorized in खेलकुद