हिमालतिर यार्सा टिप्नेको लर्को
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २५, बुधबार
पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र मुदीका बासिन्दा आधा जीव र आधा वनस्पतिका रुपमा परिचित बहुमूल्य यार्सागुम्बा खोज्नका लागि गाउँ छाडेर हिमालतर्फ उक्लेका छन् । गाउँबाट एक दिनको बाटो हिँडेर स्थानीय गुर्जा हिमालको आसपासका क्षेत्र र खर्कमा गएका गुर्जाबाट स्थानीय गोर्खा छन्त्यालले जानकारी दिनुभयो । छन्त्यालका अनुसार गुर्जा हिमाल आसपासका पुरानबुकी, नाउरे, थारखोला, बौरबास, दोथेवासलगायतका क्षेत्रमा स्थानीयले १० देखि १५ दिनसम्म बसेर यार्सा सङ्कलन गर्ने गर्छन् । गत मङ्सिरदेखि फागुन अन्तिम सातासम्म उच्च हिमाली क्षेत्रमा भएको हिमपातका कारण जमेको हिउँ पग्लेपछि स्थानीय यार्सा सङ्कलनका लागि हिमालतिर लागेका हुन् ।
यसपालि राम्रोसँग हिमपात भएको र यार्सा पाइने खर्कमा मानिस तथा जङ्गली जनावरको पनि ओहोरदोहोर नभएकाले विगतका वर्षमा भन्दा बढी यार्सा सङ्कलन गर्न सकिने अनुमान स्थानीयले गरेका छन् । छन्त्यालले दिएको जानकारीअनुसार गुर्जाबाट २३ जनाको एक समूह यार्सा सङ्कलनका लागि गएको छ ।
स्वदेश तथा विदेशमा राम्रो बजार रहेको यार्सा सङ्कलनमा पछिल्ला केही वर्षयता विद्यार्थीलाई रोक लगाइएको छ । अभिभावकसँगै विद्यार्थी पनि यार्सा सङ्कलनका लागि जाँदा गाउँमा रहेको सामुदायिक विद्यालयमा एक महीनासम्म पठनपाठन अवरुद्ध हुने गरेको थियो । वैशाखको दोस्रो सातादेखि जेठ महीनासम्म गुर्जा, मुदीलगायतका उच्च हिमाली क्षेत्रका बासिन्दा यार्सा सङ्कलनका लागि लेकमा जाने प्रचलन नै रहेको छ ।
जलवायु परिवर्तनका कारण पछिल्लो समय अपेक्षा गरेअनुसार यार्सा सङ्कलनमा समस्या हुने गरेको स्थानीयले बताए । गत वर्ष यार्सा पाइने क्षेत्र हुँदै सात हजार १९३ मिटर अग्लो गुर्जा हिमालको आरोहणमा गएका पाँच जना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगीको हिमआँधीका कारण ज्यान गएको थियो । एक किलो यार्सामा तीन हजार ५०० देखि चार हजारसम्म बुटी हुने डिभिजन वन कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय


