हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच आज मर्जर सम्झाैता
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३०, बिहिबार
दुई वटा वाणिज्य बैंकले मर्जरको दिन जुराएका छन् । लामो समयको छलफलपछि हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले मर्जरसम्बन्धी सम्झौता (एमओयू) आज गर्न लागेका हुन् । हिमालय बैंकका अनुसार सम्झाैतामा दुवै पक्षले दिउँसाे ३ बजे हस्ताक्षर गर्ने कार्यक्रम छ ।
गत साता हिमालयन र इन्भेस्टमेन्ट बैंकको छुट्टाछुट्टै बोर्ड बैठकले एमओयूको मस्यौदा पारित गरेका थिए । मर्जरपछि बैंकको अध्यक्षमा हालका इन्भेस्टमेन्टका अध्यक्ष पृथ्बीबहादुर पाँडे हुने टुंगो लागेको छ । त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा हालका हिमालय बैंकका अशोक राणाको नाम राखिएको छ ।
मर्जरपछिको बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक´ रहने सहमति छ । हिमालयन बैंकले अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थालाई प्राप्ति तथा मर्जर गरेको थिएन ।
२०७४ सालदेखि नै ठूला बैंकहरूबीच मर्जर गराउन राष्ट्र बैंकले नीतिगत सहजीकरण गरेको थियो । यसअघि ग्लोबल आइएमई बैंक र जनता बैंक आपसमा मर्ज भएका थिए । दोस्रो बिग मर्जरका रूपमा हिमालयन र इन्भेस्टमेन्ट अघि बढेका हुन् । योसँगै नेपालमा वाणिज्य बैंकहरूको संख्या २६ मा झर्ने छ ।
Categorized in बिजनेस

