होटल र रिसोर्टलाई क्वारेन्टाइन बनाइने
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ९, शुक्रबार
काठमाडौं – विदेशबाट फर्किएका नागरिक राख्न अब क्वारेन्टाइनको रुपमा होटल र रिसोर्टलाई प्रयोगमा ल्याइने भएको छ ।
शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याउन आवश्यक परामर्श थालिएको बताए ।
उनका अनुसार हाल काठमाडौं उपत्यकामा ५१८ शय्या तयारी अवस्थामा छन् । देशभर भने करीब ६५ हजार क्वारेन्टाइन तयारी अवस्थामा रहेकोमा २५ हजार सर्वसाधारण क्वारेन्टाइनमा छन् ।
राज्यमन्त्री मानन्धरले देश सङ्कटमा परेका बेला ठूला होटललाई क्वारेन्टाइनको रूपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै यसमा व्यवसायीबाट आवश्यक सहयोगका अपेक्षा गए ।
राज्यमन्त्री मानन्धरका अनुसार हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने छ । विदेशमा विपद्मा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौँ उपत्यकामा आवश्यक क्वारेन्टाइनका लागि पूर्वतयारी गरिएको बताउँदै खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारण सरकारको प्राथमिकतामा रहेको स्पष्ट गरे ।
हवाईमार्ग भएर फर्कनेका लागि उपत्यकामा अस्थायी क्वारेन्टाइन बनाइने र सम्बन्धित स्थानीय तहमार्फत व्यवस्थापन गरिनेबारे सरकारले छलफल गरिरहेको राज्यमन्त्री मानन्धरले जानकारी दिए ।
Categorized in राष्ट्रिय