STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१० मिनेटमा घुम्नुस्, दामोदर कुण्डदेखि त्रिवेणीधाम

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ७, मंगलबार

बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्राहलयप्रतिको आकर्षण उल्लेख्य रुपमा बढ्दै गएको हो । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम क्रमशः लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरेर मनै लोभ्याउने गरी सङ्ग्रहालय निर्माण गरिएको हो । यसको रोचक र ऐतिहासिक पक्ष के छ भने अझ पनि धेरैलाई थाहा नभएको र जानकारी हुनुपर्ने अर्थात् गराउनुपर्ने विषय सङ्ग्रहालयमा करीब १० मिनेट समय निकालेर घुम्दा पवित्र धार्मिकस्थलको यात्रा अनुभूतिसमेत हुन्छ । यहाँ मुस्ताङको पवित्र धार्मिकस्थल दामोदर कुण्डदेखि नवलपुरको त्रिवेणीधामसम्मको अनेक परिदृश्य हेरेर पृथक आनन्द लिन सकिने सुविधा पनि छ । शालिग्राम दर्शनका लागि आउने जोकोहीलाई ५० मिटर लामो संरचनामा बनेको त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको धार्मिक नमूनाले लोभ्याउने गरेको छ । सङ्ग्रहालयभित्र कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्डदेखि त्रिवेणीसम्म कालीगण्डकी नदी वरपर रहेका धार्मिक तथा प्राकृतिक सभ्यता दुरुस्त उतारिएको छ । त्रिवेणीधामदेखि दामोदर कुण्डको यात्रा, विभिन्न मठमन्दिरको केही समयमै दर्शन गर्न मिल्ने गरी आकर्षक शैली र सोचमा संरचना निर्माण गरिएको शालिग्राम सङ्ग्रहालयका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । “कृष्ण गण्डकी खण्ड परिक्रमा गर्न सबैलाई समय, सहज र सम्भव हुँदैन”, स्वामी प्रपन्नाचार्यले भन्नुभयो, “सङ्ग्रहालयभित्रै गण्डकी सभ्यतालाई उतारिएको छ, धर्म प्राप्तिका लागि यही परिक्रमा गर्न सक्नुहुनेछ ।” प्रपन्नाचार्यका अनुसार कृष्ण गण्डकी खण्डमा नवलपुरको त्रिवेणीधामदेखि मुस्ताङको दामोदर कुण्डसम्मको तीर्थस्थल, सभ्यता चित्रण गरिएको छ । कृष्ण गण्डकी खण्डमा त्रिवेणीधाम, देवघाटधाम, कोदाडीघाट, राम्दी, सिद्ध गुफा, उत्तरायणी मालुङ्गा, रिढी, रुद्रवेणी, सेतीवेणी, मोदीवेणी, गुप्तेश्वर गुफा, सहस्रधारा, बागलुङ कालिका, पञ्चकोटधाम, गलेश्वरधाम, कागवेनी, मुक्तिनाथ र दामोदर कुण्ड समावेश गरिएको छ । एकैपटक कृष्ण गण्डकी आसपासमा रहेका तीर्थस्थल, सभ्यता र धामहरुको कलाकौशल पनि देखाइएको छ । धार्मिक पर्यटक तथा श्रद्धालु भक्तजनलाई कृष्ण गण्डकी र पुण्यभूमि परिक्रमा गरेको अनुभूति हुने प्रपन्नाचार्यको दाबी छ । रु छ करोड लागतमा नवनिर्मित सङ्ग्रहालयमा ध्यानकक्ष, वृत्तचित्र प्रर्दशनीकक्ष, मुक्तिनाथ मन्दिरलगायतका संरचना पनि रहनेछन् । भूमिगतरूपमा निर्माण गरिएको शालिग्राम सङ्ग्रहालय मुलुुककै पहिलो हो । नेपाल भ्रमण वर्ष २०२० समेत शुरु भएको यस बेलामा घुम्नैपर्ने स्थानमा शालिग्राम सङ्ग्रहालय पर्न थालेको स्थानीयवासी बताउँछन् । तिरुपति बालाजीधामस्थित रङ्गबैकेटश्वर मुक्तिनारयाण मन्दिर परिसरमा स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय निर्माण भएको छ । करीब ७६ मिटर लामो उक्त सुरुङभित्र झण्डै सवा लाख शालिग्राम सुरक्षित गरी राखिएको छ । अहिले शालिग्राम सङ्ग्रहालय हेर्नका लागि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । हाल पर्वत, म्याग्दी तथा बागलुङका विभिन्न स्थान तथा मुक्तिनाथ पुग्ने भारतीय पर्यटकसमेत सङ्ग्रहालय अवलोकनका लागि आउन थालेका छन् । शालिग्राम शिलाको संरक्षणको अभावमा हराउँदै गएपछि यहाँको मन्दिरले १४ वर्षदेखि शालिग्राम सङ्ग्रह गर्दै आएको थियो । “शिवजीको प्रिय अस्त्रका रूपमा मानिने त्रिशूल आकारको चार खण्डमा ७६ मिटर सुरुङभित्र सङ्ग्रहालय छ”, स्वामी प्रपन्नचार्यले भन्नुभयो, “हिन्दूहरुले पुजन गर्ने शालिग्राम एकैसाथ दर्शनका लागि विश्वका हिन्दू धर्मावलम्बी यहाँ आउनेछन् ।” यसले विशेषगरी मुक्तिनाथ जाने ठूलो सङ्ख्याका भारतीय तीर्थयात्रीलाई जिल्ला भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सङ्ग्राहलय निर्माण भएको परिसरमा वेदविद्याश्रम, कुटी तथा ऐतिहासिक महत्व बोकेका आकर्षक साजसज्जा र शैलीमा निर्माण गरिएको रङ्गबैकेटश्वर मन्दिरको दर्शनसमेत गर्न सकिने छ ।
Categorized in राष्ट्रिय