STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१० वर्षमा पनि बनेन् दुखुखोलाको पुल

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १३, सोमबार

२०६७ सालमा निर्माण शुरु गरिएको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलाको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा पश्चिम म्याग्दीका तीन गाउँपालिकाका हजारौँ जनताले सास्ती खेप्न बाध्य भएका छन् ।
तत्कालीन जिल्ला विकास समितिअन्तर्गत सञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम ९ड्रिलीप० मार्फत् २०६७ मा शुरु भएको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण गर्न नसकिएको हो ।
शुरुमा डिजाइन गलत भएको भनी पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराई २०७३ मा अर्को ठेक्का सम्झौता गरिएको थियो । २२ मिटर लामो पुल निर्माणका लागि २०७३ साउन ९ गते रु दुई करोड २५ लाख ६० हजार ८२३ मा स्वच्छन्द–गौचन जेभीसँग सम्झौता भएको थियो । २०७४ कात्तिकमा सक्ने सम्झौता भए पनि अहिलेसम्म दुईतर्फको पिल्लर ठडाएर ढलानको लागि सटिङ मात्र भएको छ । सटिङ गरेको एक महीना बिते पनि ढलान नभएको र वर्षामा खोलामा आएको बाढीले बगाउने जोखिम बढेको जनगुनासो बढेको छ ।
सम्झौताअनुसार निर्माण कार्य नभएपछि स्थानीय निकायले चासो देखाएका छन् । जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसी, सदस्य शेरबहादुर केसी, समन्वय अधिकारी ज्ञानराज कोइराला र मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको टोलीले पुलको स्थलगत निरीक्षण गरेको छ । पुल निर्माणमा भएको ढिलाइको विषयमा तत्कालै पूर्वाधार विकास कार्यालयमार्फत् निर्माण कम्पनीलाई ताकेता गर्न लगाउने जिसस प्रमुख केसीले जानकारी दिनुभएको छ ।
पुल निर्माणमा ढिलाइ हुँदा सवारीसाधन र सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् । बेनी–दरवाङ मङ्गला, मालिका, धौलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो ।
स्वच्छन्द–गौचन जेभीले ठेक्का सम्झौता गरे पनि काम भने बेनीको श्रमजीवी निर्माण कम्पनीका प्रकाश बानियाँले गर्दै आउनुभएको छ । पछिल्लो पटक वैशाख मसान्तसम्मका लागि थप भएको म्याद पनि ठेकेदारले काम नगरी गुजारेका छन् ।
Categorized in राष्ट्रिय