STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

१७० को दन्त उपचार

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

कैलालीको टीकापुरस्थित मुक्त कमैया शिविरमा आयोजित निःशुल्क दन्त परीक्षण शिविरमा १७० को निःशुल्क उपचार गरिएको छ । शिविरमा दन्त परीक्षणका साथै आवश्यक औषधि, दन्त मञ्जन तथा ब्रस वितरण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजनामा भएको शिविरमा मुक्त कमैया बस्ती नागरिकको उपचार गरिएको हो । टीकापुर–२ का अध्यक्ष प्रकाशबहादुर बुढाथोकीले ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले शिविर आयोजना गरेकामा धन्यवाद दिनुभयो । उहाँले विपन्न र मुक्त कमैयालाई दाँतको उपचारमा सहज भएको बताउनुभयो । “सहकारीले यस्ताखाले सामाजिक काम गर्न आवश्यक छ । सहकारी, विभिन्न सङ्घसंस्थाले यसरी जनतालाई लाभ हुने खालका कार्यक्रम गरेमा सामाजिक दायित्व पूरा हुन्छ”, वडाध्यक्ष बुढाथोकीले भन्नुभयो, “यसरी सामाजिक हितका लागि काम गर्ने सहकारीलाई स्थानीय सरकारले पनि सहयोग गर्छ ।” सामाजिक क्षेत्रमा यसरी अग्रसर भएर काम गर्ने संस्थालाई वडा कार्यालयले समेत आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । डेन्टल सर्जन डा पवित्रा विष्ट बोगटीले मानिसले दाँतको समस्यालाई समस्याका रुपमा नलिने चलन अझै रहेको बताउनुभयो । “शिविरमा लामो समयसम्म दाँतको रोग पालेर बसेका मानिस पनि आए”, डा बोगटीले भन्नुभयो, “दाँत दुखेमा उपचार पो गर्नुपर्छ तर दुखाइ कम गर्ने औषधि खाएर घरमै बस्ने चलन रहेछ । दाँत र गिजामा समस्या आए सामान्य रूपमा लिन हुँदैन, उपचार गरिहाल्नुपर्छ ।” उहाँले दाँतको सरसफाइमा ध्यान दिन सन्देश दिने उद्देश्यले दन्त मञ्जन तथा ब्रस वितरण गरिएको बताउनुभयो । सहकारीका व्यवस्थापक छविलाल जैशीले सहकारीले कमाइको केही अंश बिरामीको उपचारमा खर्च गर्नुपर्छ भन्ने निर्णय गरेपछि दन्त शिविर आयोजना गरेको बताउनुभयो ।
Categorized in राष्ट्रिय