STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

३४ स्थानका सुन्तलामा हुवाङलोङबिङ

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २७, बुधबार

 नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट ले गत वर्ष नेपालका १६५ स्थानबाट सुन्तला जात फलफूलको नमूना सङ्कलन गरी परीक्षण गर्दा ३४ स्थानका फलफूलमा लाग्ने रोग अर्थात् क्यान्सर हुवाङलोङबिङ एचएलबी भेटेको छ ।  एचएलबी विशेष गरी अमिला सिट्रस अर्थात् सुन्तला जातका फलफूल जुनार, सुन्तला, कागती, निबुवा, मौसम, ज्यामिर, भोगटे, बिमिरो र नास्पातीमा लाग्ने ब्याक्टेरिया जस्तै जीवाणु भएको नाष्टका विज्ञले बताएका छन् । एचएलबी ती फलफूलका दाना, पात वा बोटमा लाग्छ । सो रोगको कुनै उपचार पद्धति भने नभएको नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले जानकारी दिनुभयो ।  “यस रोगको पहिचान गर्ने काम नाष्टले गर्छ”, ढुङ्गेलले भन्नुभयो, “नाष्टसँग पोलिमिरेस चेन रियाक्सन नामक प्रविधि छ, त्यसले मोलिक्लुयर विधिमा गएर यी फलफूलमा लाग्ने रोगको पहिचान गराउँछ ।”
यो रोग लागेपछि बोट र पात पहेँलो भएर सुक्दै जाने वा मर्ने, दाना चाउरिने, हरियो हुने, फल वा दानामा खोटेत्रो लाग्ने, फल लागे पनि रस नहुने, सानो दाना फल्ने र स्वाद तीतो अर्थात् नुनिलो हुने गरेको बताइन्छ ।  “नाष्टसँग प्रविधि भएसँगै सो रोगको पहिचानको शुरुआती चरणमा नेपालको सुन्तला फल्ने क्षेत्र गोरखा, सल्यान, पाल्पा, चितवन, काठमाडौँलगायत अन्य केही स्थानमा गएर परीक्षण पूर्ण गरी अघि बढाइएको नाष्टका विज्ञ जयश्री सिंजापतिले जानकारी दिनुभयो ।  “सुन्तलाजन्य पदार्थमा लाग्ने रोगको परीक्षण पहिलो पटक दक्षिण एशियाली मुलुकबाट भएको हो”, सिँजापतिले भन्नुभयो, “विगतका दिनमा भुटानबाट यी फलफूलका दाना नाष्टको कार्यालय ल्याएर परीक्षण गर्ने गरिन्थ्यो तर आजभोलि यो काम रोकिएको छ ।”
क्षेत्र र उत्पादनको हिसाबले सुन्तला जात फलफूलले विश्वमा तेस्रो स्थान ओगटेको छ  भने नेपालमा  पहिलो स्थान ओगटेको छ ।  फलफूलमा सो रोग लाग्नुपूर्व किसानले यसको बारेमा सबै कुरा जान्न जरुरी रहेको विज्ञहरु सुझाव दिन्छन् । सुन्तला जात फलफूल उच्च मागका साथै निर्यात बढी सम्भावना भएको बाली मानिन्छ । सुन्तला खेती गरी आफ्नो जीवन निर्वाह गर्ने हरेक किसानले समस्या पर्नुपूर्व नाष्टको कार्यालयमा लगेर आफूले उत्पादन गरेको दाना परीक्षण गर्न सक्ने बताइएको छ ।  एचएलबीको साधारण नाम हरियो ग्रिनिङ, पहेँलो गोली एल्लो शुट वा पहेंँलो डैगन एल्लो डैगन जस्ता विभिन्न नाम छन्् ।  रोग लागेको फलफूलको दाना हेर्दैमा ठ्याक्क चिनिने खालको हुन्छ । विसं २०७६ मा सुन्तला खेतीबाट जीवन अघि बढाउन लागेका किसानले एचएलबी बारेमा समयमै ध्यान दिँदा घाटा बेहोर्नु नपर्ने सुझाव दिइएको छ । 
Categorized in राष्ट्रिय