STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘अपराधसम्बन्धी समाचारमा मिडिया संवेदनशील बन्नुपर्ने’

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मिडिया जघन्य अपराधसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । 
नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाले आज यहाँ आयोजना गरेको ‘पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम’ को उद्घाटन गर्दै उहाँले अनुसन्धानलाई असर पुग्ने गरेर मिडियाले समाचार सम्प्रेषण गर्न नहुने बताउनुभयो । सरकारी वकिल, नेपाल प्रहरी र पत्रकारबीचमा सुमधुर सम्बन्ध आवश्यक रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि घटनामा मिडियाले के भएको हो भनेर घटना जस्ताको तस्तै प्रस्तुत गर्नुपर्छ, गलत सूचना दिनुहुँदैन ।”
प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले नेपाली मिडियाले धेरै सकारात्मक काम गरेको उल्लेख गर्नुभयो । देशको सामाजिक र राजनीतिक परिवर्तनमा मिडियाले उल्लेखीय भूमिका निभाए पनि मिडिया आफैँ सच्चिनुपर्ने ठाउँ धेरै भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी आफैँ सच्चिन नलाग्ने हो भने सरकारले जरिवानासहितको कानून बनाउन लागेको छ ।” 
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाले महासङ्घलाई छुट्टै भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने बताउनुभयो । मिडियाले सत्यतथ्य बुझेर मात्रै लेख्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “दिनभर जनताको सेवा गरेर साँझ घर पुग्दा मिडियाले लेखेका गलत कतिपय कुरा देखेर निरास हुने गरेको छु ।”
कोञ्जेसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले गाउँपालिका शहरी क्षेत्रबाट नजिकै भएर पनि आर्थिक, सामाजिक रुपमा पछाडि परिरहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलले महासङ्घले यहाँका स्थानीय तहसँगको सहकार्य र समन्वयलाई प्राथमिकता दिइरहेको बताउनुभयो । 
Categorized in राष्ट्रिय