STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘उम्मेदवारीको निर्णय पार्टीमा निर्भर’ –कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन

Janjati Khabar – –ललेन्द्र शाक्य– | २०७८ फाल्गुण १९, बिहिबार

‘सरकारद्वारा घोषित स्थानीय निर्वाचन निर्धारित समयमैं हुन्छ’ –मेयर रमेश महर्जन

 

सार्वजनिक सरकारी विदाका दिनमा पनि कीर्तिपुर मेयर रमेश महर्जन नियमित कार्यालय कार्यमा

 

आज बिहिबार ग्याल्पो ल्होसारको दिन, नेपाल सरकारले सरकारी कार्यालय, विद्यालय, संघसंस्थालाई अधिराज्यभर सार्वजनिक विदाको घोषणा गरेको भए पनि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन कार्यालय उपस्थित भई आफूले गर्नुपर्ने नियमित कार्य गर्नुभएको छ ।

आज बिहिबार जनजाति खबर डटकमलाई जानकारी दिनुभएको अनुसार मेयर महर्जनले सरकारी सार्वजनिक विदा भए पनि कार्यालयमा आफूले गर्नुपर्ने कार्यलाई लक्षित गरी कार्यालय उपस्थित भई गर्नुपर्ने कार्यलाई निरन्तरता दिएको बताउनु भएको छ ।

एमसीसी प्रतिनिधिसभामा ब्याख्यात्पक घोषणासहित अनुमोदन भएको कारण नेपाल सरकारले आउँदो २०७९ साल बैशाख ३० गते घोषणा गरेको स्थानीय निर्वाचन सारिने भन्ने विषयमा आइरहेको चर्चा परिचर्चाको विषयमा मेयर महर्जनले निर्वाचन मिति नसारिने जानकारी दिनुभएको छ ।

यही क्रममा मेयर महर्जन भन्नु हुन्छ, ‘सरकारले निर्धारण गरिसकेको स्थानीय निर्वाचनको मिति सारिने छैन । आउँदो बैशाख ३० गते नै हुन्छ । निर्वाचन आयोगले माग गरेको करिब ९ अर्ब रकम पहिलो किस्ता स्वरुप सरकारले आयोलगाई बुझाइसकेको अवस्था छ । यसरी रकम परिचालन भइसकेपछि निर्वाचन रोकिने र पर सारिने कुरै हुँदैन । निर्धारित भएको समयमैं स्थानीय निर्वाचन हुन्छ ।’

यसरी नै, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय निर्वाचनको विषयमा भन्नु हुन्छ, ‘केही अप्रत्यासित ठूलो घटना वा दुर्घटना भयो भने मात्र हो, निर्वाचन पर सर्न सक्छ । एक समूहले कहीँकतै अप्रिय घटना गरियो भने पनि स्थानीय निर्वाचनलाई केही प्रभावित गर्नसक्छ । तर, आउँदो बैशाख ३० गते नै स्थानीय निर्वाचन हुन्छ ।’

आउँदो स्थानीय निर्वाचनमा फेरि एकपटक मेयर पदमा उम्मेदवारी दिई आफू मेयर पदमा दोहोरिने मनसाय मेयर रमेश महर्जनले केही समय अगाडि नै आफ्ना मनका कुरा सामाजिक संजाल एवं संचारमाध्यममा सार्वजनिक गरिसक्नु भएको छ ।

मेयर महर्जनले फेरि दोस्रोपल्ट मेयर पदमा उम्मेदवारी दिने विषयमा भन्नु हुन्छ, ‘कीर्तिपुर नगरपालिकाले आफूहरु जननिर्वाचित प्रतिनिधि भई नगरपालिकामा आइसकेपछि थुप्रै कार्य गरी, कीर्तिपुर नगरको रुप सकारात्मक रुपमा केही हदसम्म परिवर्तन गर्नमा सफलता मिलेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति परम्परा, सम्पदा पर्यटन इत्यादी क्षेत्रदेखि सडक निर्माण, पाटीपौवा एवं कलात्मक सार्वजनिक भवन निर्माण तथा पुनःनिर्माणको कार्य अधिकांश रुपमा भयो । जनताको जीवनस्तरमा केही हदसम्म सकारात्मक रुपमा परिवर्तन ल्याउन नगरपालिका सफल भएको छ । तर पनि आफूहरुले कीर्तिपुर नगरको निमित्त यो बाहेक पनि थुप्रै विकासशील पूर्वाधारसंगै योजनाहरु निर्माण गरेका छौं । त्यो पूरा भएको छैन । त्यसैले आफूहरु फेरि पनि एकपटक कीर्तिपुर नगरपालिकाको नेतृत्व गर्नमा इच्छुक भएका हौं ।’

कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जनले उम्मेदवारीका निम्ति पार्टीको निर्णयमा निर्भर भएको जानकारी पनि दिनुभएको छ ।

Categorized in उपत्यका