STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ हाम्रो अभियान होः प्रम

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज  भिडियो सन्देश दिँदै उहाँले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै  अभियानलाई निरन्तरता दिइएको बताउनुभयो । 
गत  वर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर देशभर करीब २३ लाख फलफूलका विरुवा रोपिएको जानकारी उहाँले दिनुभयो । हरेक वर्षजस्तै आज नेपालमा पनि ‘स्वच्छ वायु स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ ।
 कुल जमीनको करीब ४५ प्रतिशत भूभाग वन क्षेत्र तोकिएको बताइएको  छ । 
पृथ्वीमा अस्वाभाविक ढङ्गले जलवायु परिवर्तन भइरहेको र वातावरण प्रदूषणले  पृथ्वीको तापक्रम बढाउँदै यस परिवर्तनलाई तीव्रता दिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । “यसका कारण हाम्रा हिमाल पग्लिरहेका छन् । अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, भूक्षय, बाढीपहिरो जस्ता विपत्तिहरु बढिरहेका छन्”, उहाँले भन्नुभएको छ ।
दूषित हावाबाट वर्षेनी ७० लाखको मृत्यु
हामीले खाने खाना, पिउने पानी र  श्वास फेर्ने हावासमेत प्रदूषित हुँदै गइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक वर्ष विश्वभर दूषित हावाकै कारण करीब ७० लाख मानिसको मृत्यु हुने गरेको बताउनुभएको छ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण कम गर्न सबैले आफ्ना ठाउँबाट पहल गर्न ढिला गर्न नहुने उहाँको भनाइ छ ।
स्वच्छ वातावरणमा जीवनयापन गर्ने र बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरिएको तथा सन्तुलित, दिगो एवं तीव्र आर्थिक र  सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने सरकारको मूल नीति रहेको सन्देशमा जनाइएको छ । 
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “विश्वमा भइरहेको वातावरणीय असन्तुलनमा हाम्रो खासै नकारात्मक भूमिका छैन । त्यसैले बिग्रिएको र बिगिँ्रदै गएको वातावरणप्रति चिन्तित रहन र यसलाई सुधार्न वातावरण संरक्षण र मानवजातिको हितका लागि हामीले विश्वलाई नै आह्वान गर्नुपर्ने अवस्था आएको छ ।  त्यही उद्देश्यले सरकारले यस वर्ष सगरमाथा संवादको आयोजना गर्दैछ । यस संवादमार्फत संसारभर जलवायु परिवर्तन र यसका दुष्प्रभावका बारेमा सार्थक बहस शुरु गरिने उहाँको भनाइ छ ।
नियमित कार्यकै रुपमा सरकारले विभिन्न हिमालसहित सगरमाथा सफाइ अभियान अघि बढाइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक मानवीय क्रियाकलापले वातावरणीय असर पार्ने भएकाले त्यसलाई ख्याल गरेर सबैले बानी व्यहारमा ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । उहाँले वातावरण प्रदूषण रोक्ने सरकारको अभियानमा सदैव क्रियाशील हुन सबैलाई आह्वान पनि गर्नुभएको छ । 
Categorized in राष्ट्रिय