STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘पर्यटकीय सवारी चालकलाई पोशाक अनिवार्य’

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार

पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा आज यहाँ सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रम’मा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भन्नुभयो, “पोशाक र परिचयपत्र अनिवार्यका लागि विभागले निर्णय गरिसकेको छ, अब चाँडै कार्यान्वयनमा लैजान्छौँ ।” उहाँले नेपाल घुम्न आउने पर्यटकलाई राम्रो व्यवहार गर्न र इमान्दार चालक बन्नसमेत आग्रह गर्नुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पर्यटन व्यवसायको विकास र विस्तार गरी राष्ट्रलाई समृद्ध बनाउनु सबैको दायित्व रहको बताउँदै यस पेशामा रहेका चालकले आफ्नो पेशालाई अझै मर्यादित र सम्मानयोग्य बनाउन स्वअनुशासनमा रही ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बसाल्नुपर्ने बताउनुभयो । “विमानस्थलमा आएका पर्यटकलाई नेपाल घुम्न चालकको साथ महत्वपूर्ण हुने भएकाले पर्यटकलाई राम्रो व्यवहार गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्ष सफल पार्न यस्ता प्रशिक्षणले सहयोग मिल्छ ।” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले विसं २०६९ देखि सार्वजनिक सवारी साधनमा भाडा समायोजन नभएका कारण ट्याक्सीले ठग्ने प्रवृत्ति बढेको भन्दै तत्काल यसलाई रोक्न सरकारले भाडा समायोजन गर्नुपर्ने बताउनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको आवश्यकताअनुसार पर्यटक प्रहरीको सेवालाई विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो । पर्यटक प्रहरी एकाइका प्रमुख तथा प्रहरी निरीक्षक अमृत बस्नेत, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०का अध्यक्ष नवराज दाहाल, नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्स एजेन्ट ९नाट्टा०का प्रथम उपाध्यक्ष अच्युत गुरागाईं, राष्ट्रिय पर्यटन पत्रकार सङ्घ ९नाटोज०का अध्यक्ष शिव अधिकारीेलगायतले पर्यटन क्षेत्रको विकासमा सबै संस्था हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विसं २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल २६ स्थानमा आफ्नो शाखा विस्तार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको उक्त एकाइका प्रहरी नायब निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो । पर्यटक प्रहरीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भर्खरै काठमाडौँ महानगरपालिका–२६ को सहकार्यमा प्रमुख पर्यटकीय स्थल ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गर्न लागेको प्रहरी नायव निरीक्षक रेग्मीले बताउनुभयो ।
Categorized in राष्ट्रिय