STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘पाश्चात्य कला संक्षिप्त इतिहास’

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १४, बुधबार

काठमाडौँ : कलाकार तथा कलालेखक नवीन्द्रमान राजभण्डारीले लेखेको ‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग सार्वजनिक गरिएको छ । विश्वकला इतिहासलाई सरलरुपमा लेखिएको यस पुस्तकलाई सिर्जना कलेज अफ फाइन आर्टसले प्रकाशन गरेको हो । पुस्तकमा विश्वकला जगत्मा देखापरेका कलाका विविधशैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ । राजभण्डारीकै यसअघि प्रकाशनमा आएको पुस्तकको पहिलो भागमा पाषाण युगदेखि सोह्रौँ शताब्दीसम्मको पाश्चात्य कलाको चिरफार गरिएको थियो । दोस्रो भागमा सत्रौँ शताब्दीदेखि २१औँ शताब्दीसम्म विश्वमा चलेका कलाका विभिन्न शैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ । कलाकार तथा कलालेखक राजभण्डारीले ‘पाश्चात्य कलाको संक्षिप्त इतिहास’ लेखनका क्रममा ‘पहिलो भाग’ प्रकाशित भएको ठीक सात वर्षको अन्तरालमा यो ‘दोस्रो भाग’ निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाश्चात्य कलाबारे नेपाली भाषामा पुस्तकको उपलब्धता होस् भन्ने चाहना राख्ने पाठकको माग र आवश्यकतालाई यस पुस्तकले सम्बोधन गर्ने छ भन्ने विश्वास छ ।” पुस्तकमा सत्रौँ शताब्दीपछि युरोपमा चलेका कलाका विविध आन्दोलन र तिनले ल्याएको परिवर्तनलाई समेत चित्रण गरिएको छ । युरोपमा सत्रौँ शताब्दीमा विकास भएको बरोक कलाशैली, कलाकृति र कलाकारको चिन्तन, परिवेश तथा त्यसको प्रभावको विषयलाई समेत पुस्तकमा समावेश गरिएको छ । त्यस्तै, अठारौँ शताब्दीको रोकोको, नवशास्त्रीयवाद, स्वच्छन्दवादमा विकास भएका कला र तिनका चिन्तन र परिवेशलाई पुस्तकमा सरल ढङ्गले चित्रण गरिएको छ । १९ औँ शताब्दीमा विकास भएको नवशास्त्रीयवाद, स्वच्छन्दवाद, यथार्थवाद, प्रभाववाद तथा आधुनिक कलाको आरम्भलगायतका विषयले विश्वकला जगत्मा भएका विविध आन्दोलन, शैली र तिनका प्रवृत्तिलाई बुझ्न पुस्तक निकै उपयोगी छ । त्यसैगरी २०औँ शताब्दीमा विकास भएको कलाको अवस्था, परिवेश र सामाजिक जीवनलाई समेत पुस्तकमा उतारिएको छ । विश्वकलाको इतिहासलाई सहज ढङ्गले प्रस्तुत गरिएको पुस्तक निकै उपयोगी छ । कलाकार तथा कलालेखक राजभण्डारीले पुस्तकको पहिलो भागमा पाषाणयुगीन गुफा कलादेखि सोह्रौँ शताब्दीसम्मको पाश्चात्य कलाको इतिहास समेटिएको बताउँदै भन्नुभयो, “दोस्रो भागमा सत्रौँ शताब्दीको बरोक कलादेखि बीसौँ शताब्दीको उत्तराद्र्धसम्म देखापरेका उल्लेखनीय कला आन्दोलन, विधा, शैली तथा प्रतिनिधि कलाकारबारे संक्षेपमा जानकारी जुटाउने प्रयास गरिएको छ ।” पुस्तक कलाकार तथा कलाका विद्यार्थीका लागि मात्र नभई पाश्चात्य कलाबारे अभिरुचि राख्ने सबैका जिज्ञासुका लागि उपयोगी रहेको कलाकार, कलालेखक तथा सिर्जना कलेज अफ फाइन आर्टस्का प्रिन्सिपल मदन चित्रकारले बताउनुभयो । उहाँले भन्नुयभो, “पाश्चात्य कलाको इतिहासमा देखापरेका प्रत्येक महत्वपूर्ण परिवर्तन, प्रतिनिधि पात्र तथा तिनका कृतिबारे सूक्ष्म ढङ्गले विश्लेषण एवं वर्णन गरिएको हुँदा पुस्तक सबै वर्गका पाठकका लागि निकै उपयोगी र पठनीय छ ।” कलाका विविध आन्दोलन, शैली, तिनका प्रवृत्ति र विश्व परिदृश्यमा कलाले पारेको प्रभावका विविध पाटालाई पुस्तकमा चिरफार गरिएको छ ।
Categorized in सिनेमा