STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘मुख्यमन्त्री नमूना गाउँ’ मा घरबास

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

मुख्यमन्त्री नमूना कृषिगाउँको रुपमा छनोट भएको तनहुँको भानु नगरपालिका–११ बाँसखर्कमा घरबास भवन निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको घरबास होमस्टे प्रवद्र्धन कार्यक्रमअन्तर्गत बाँसखर्कमा होमस्टेका लागि भवन निर्माण शुरु भएको हो । बाँसखर्क सामुदायिक होमस्टे व्यवस्थापन समितिअन्तर्गत पहिलो चरणमा पाँच होमस्टे भवन निर्माण हुनलागेको समितिका अध्यक्ष यम गुरुङले जानकारी दिनुभयो । मन्त्रालयले होमस्टे प्रवद्र्धन कार्यक्रमका लागि प्रतिहोमस्टे रु १० लाखका दरले अनुदान दिएको छ । सोही रकममध्येबाट पहिलो चरणमा पाँच होमस्टे भवन निर्माण थालिएको छ । समितिले डिभिजन वन कार्यालय तनहुँसँग अनुदानका लागि सम्झौता गरिसकेको र कार्यालयले पहिलो किस्तावापतको रु तीन लाख समितिलाई उपलब्ध गराइसकेको छ । कूल ७२ घरधुरी रहेको बाँसखर्कमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ कार्यक्रमसमेत शुरु हुँदैछ । नमूना गाउँको रुपमा विकास गर्ने उद्देश्यसहित होमस्टे निर्माण थालिएको गुरुङले बताउनुभयो । वातावरणमैत्री उद्यान निर्माणका लागि अध्ययन तनहुँको भिमाद नगरपालिका–९ स्थित मोहोरियामा निर्माण हुने वातावरणमैत्री उद्यानको सम्भाव्यता अध्ययन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको वन उद्यान निर्माण कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको उद्यानको काठमाडौँस्थित एशियन सेन्टर फर डेभलपमेण्टले सम्भाव्यता अध्ययन गरेको हो । सम्भाव्यता अध्ययन प्रतिवेदन डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको छ । उद्यान निर्माणका लागि चालू आर्थिक वर्षमा रु १५ लाख विनियोजन भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय तनहुँले समेत उक्त ठाउँको स्थलगत अवलोकन गरी वातावरणमैत्री उद्यान निर्माणका लागि उपयुक्त रहेको ठहर गरेको छ । गण्डकी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयका निर्देशक प्रकाश लम्साल, डिभिजन वन कार्यालयका प्रमुख बराल, सहायक वन अधिकृत बाबुराम उप्रेती, वडाध्यक्ष इमान थापालगायतको टोलीले केही दिनअघि उक्त ठाउँको अवलोकन गरेको थियो । सोही ठाउँमा सूचना केन्द्रसमेत निर्माण गरिने भएको छ । सूचना केन्द्रमा यस ठाउँ वरपर पाइने जडीबुटी सङ्कलन गरी प्रदर्शनीमा राखिने भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापाले जानकारी दिनुभयो । साथै वन कार्यालयले २०० रोपनी क्षेत्रफलमा जडीबुटीको नर्सरी स्थापना गर्ने तयारी गरेको छ । नर्सरीमा ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस ठाउँमा रहेको चुच्चेढुङ्गाको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यसहित वातावरणमैत्री उद्यान निर्माण गर्न लागिएको वडाध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “चुच्चो परेको ढुङ्गा निकै आकर्षक छ, यसको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सकिए यस ठाउँको विकासमा टेवा मिल्नेछ ।”
Categorized in राष्ट्रिय