‘राजकुमारी वेनचेङ’ अवलोकन
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार
परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार साँझ ल्हासामा मञ्चित राजकुमारी वेनचेङ नाटक अवलोकन गर्नुभयो ।
राजकुमारी वेनचेङ नाटक खुला स्थानमा प्रत्यक्ष देखाइने नाटक हो र यसले चिनियाँ र तिब्बती इतिहास तथा संस्कृति देखाउँछ । करीब १३ सय वर्ष अगाडि ताङ वंशका राजकुमारी वेनचेनले टुबो राजा सोङत्सेन गम्पोसँग विवाह गरिन् र उनको कथामा यो नाटक आधारित छ ।
यो नाटक सन् २०१३ मा पहिलोपटक आरम्भ भएको हो र यसलाई एतिहासिक कथानकको रुपमा लिइन्छ । यसमा नाटक, सङ्गीत, नृत्य तथा आधुनिक कोरियोग्राफीमार्फत् ताङ वंश र प्राचीन तिब्बतको मौलिक दृश्य देखाउन खोजिएको छ ।
करीब ९० मिनेटको राजकुमारी वेनचेङ नाटकमा पाँच भाग रहेका छन् ः ‘प्राचीनताङ वंशको आकर्षण’, ‘स्वर्ग र पृथ्वीको बौद्ध सङ्गीत’, ‘तिब्बती नृत्यको महान सौन्दर्य’, ‘पठारका देवता’ तथा ‘तिब्बती तथा हानबीच सुन्दरताको समन्वय’ । हरेक भागमा ताङ तथा प्राचीन तिब्बतलाई पुनःस्थापना गर्ने साना उपभाग रहेका छन् ।
पृष्ठभूमिमा ल्हासाको व्यापक दृश्य देखाइन्छ । यो नाटक मञ्चन गर्न २४ हजार ६११।८ वर्गमिटर भूमि उपयोग हुन्छ । यसलाई चार हजारभन्दा बढी दर्शकले हेर्न सक्छन् । व्यापक नाटक भएकाले यहाँ अभिनय गर्ने कलाकारको सङ्ख्या ८०० भन्दा बढी छ । यो नाटक तयार गर्न ७५ करोड युआन खर्च भएको बताइन्छ ।
यो नाटक चिनियाँ सत्यकथामा आधारित छ । राजकुमारी वेनचेङ ताङ तथा टुबो वंशबीच मित्रतामा महत्वपूर्ण भागको रुपमा लिइन्छ । ताङ वंशमा राजा ताई जोङका पालामा केही राज्यले शान्तिका लागि अन्तरराज्य विवाहका प्रस्ताव राखेका थिए । टुबो राजा सोङत्सेन गम्पोले पनि ताङ वंशसँग मैत्री र समन्वयको सम्बन्ध राख्न खोजे । राजकुमारी वेनचेङ त्यसपछि तिब्बततर्फ प्रस्थान गरिन र एक वर्षको यात्रामा उनले ताङ वंशको कृषि, बुनाई, औषधि उपचार तथा चिकित्साप्रविधि जस्ता सभ्यता तथा अन्य सीप उनी गएकी तिब्बतका प्रत्येक क्षेत्रमा फैलाइन् । त्यसपछि ताङ र टुबो वंशबीच मित्रता नजिकको भयो ।
यस नाटकले प्राचीन चिनियाँ इतिहास मात्र उल्लेख गर्दैन यसले तिब्बती र चिनियाँ शास्त्रीय संस्कृतिलाई पनि प्रदर्शन गर्छ । यसमा पोशाक पनि प्राचीन शैलीको छ । यहाँ गा, तगाझुओ नृत्यमा तीनसय भन्दा बढी कलाकारले भाग लिन्छन् । यहाँ उपयोग भएका गाई, भेडाच्याङ्ग्रा, याकजस्ता सबै प्राणी जीवित हुन् ।
यहाँ दृश्यको सिमुलेसन तयार गरिएको र त्यसको आकार निकै ठूलो छ । पोताला र जोखाङ विहारको त्रिआयामिक सिमुलेसन १६० मिटर लामो छ । पोतालाको दृश्य ४० मिटर लामो र २० मिटर अग्लो छ ।
विस्तृत प्रकाशबाट बनेका फूलको बगैँचा, गहुँ खेत तथा प्रार्थनाका झण्डा निकै आकर्षक देखिन्छन् । अवलोकनमा ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची र सञ्चारकर्मी रहनुभएको थियो ।
Categorized in राष्ट्रिय