‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास
Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ८, आइतबार
दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित अखटेबाट सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजना’ शिलान्यास गरिएको छ । गाउँपालिकाको छितापोखरी र खोटेहाङ गाउँपालिका–५ चिप्रिङको सिमानामा पर्ने अखटेस्थित टुवाखेलाबाट छितापाखरी–पञ्चमीबजार हुँदै बतासेसम्म सञ्चालन हुने ‘लोकतान्त्रिक सिँचाइ योजनाको शनिबार गाउँपालिका प्रमुख भुपेन्द्र राईले शिलान्यास गर्नुभएको हो ।
प्रदेश नं १ सरकारको आर्थिक सहयोगमा जल तथा सिँचाइ डिभिजन कार्यालय खोटाङद्वारा रु सात करोड ७२ लाख लागतमा साँढे दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको उक्त योजनाको कामको जिम्मा विवश इन्टरनेशनल कन्ट्रक्सन कम्पनी काठमाडौँले लिएको छ ।
गत साउनमा निर्माण कम्पनी र सिँचाइ डिभिजन कार्यालयबीच सम्झौता भएको १३ किलोमिटर लामो उक्त योजनाको नौ किलोमिटरसम्म पाइप जडान, आरसीसी, पिसीसी, ग्याबिङ पर्खाल, मेसिनरी पर्खाललगायतका संरचनाको काम निर्माण कम्पनीले गर्ने जनाइएको छ । बाँकी काम उपभोक्ता समितिले गर्ने उक्त योजनाले छितापोखरीको आधा भू–भाग, छितापोखरी र बतासेका स्थानीयवासी लाभान्वित हुने गाउँपालिका प्रमुख राईले बताउनुभयो ।
Categorized in राष्ट्रिय


