STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘सहायक श्रीमान’लाई कान्समा प्रथम पुरस्कार

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार

काठमाडौं – नेपालको बहुपति प्रथालाई विषयवस्तु बनाएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’(को–हजबेन्ड)ले रसियामा प्रथम पुरस्कार जित्न सफल भएको छ। उक्त वृत्तचित्रले रसियामा अगष्ट २३ देखि २९ तारिखसम्म चलेको १९ औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा प्रथम पुरस्कार जितेको हो। रसिया, अमेरिका लगायतका देशका चर्चित चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान’ (को–हजबेन्ड) लाई प्रथम पुरस्कार स्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरे। विभिन्न देशका फिल्म प्रतिस्पर्धामा रहेको उक्त महोत्सवमा बेलायतको फिल्म दोस्रो र पोर्चुगलको फिल्म तेस्रो भएको थियो। ‘सहायक श्रीमान’का निर्देशक गणेश पाण्डेले जुममार्फत अवार्ड समारोहलाई सम्बोधन गर्दै भने, ‘यो मेरा लागि मात्र नभइ नेपाल र युवा चलचित्रकर्मीका लागि ठूलो सम्मान हो।’ ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान’ नयाँ डकुमेन्ट्री फिल्म हो। गत डिसेम्बरमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘सहायक श्रीमान’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो। बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्। हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ। निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन्। साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन्।
Categorized in सिनेमा