STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘हतारमा समाचार लेख्दा गलत सूचना’

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १२, बिहिबार

प्रहरी, वन्यजन्तु संरक्षणमा कार्यरत, पत्रकारलगायतले वातावरण र वन्यजन्तु अपराधसम्बन्धी घटना र विषय नबुझी समाचार लेखिने गरेको बताएका छन् । विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ, हरियो वन कार्यक्रम, सञ्चारिका समूह र नेचर मिडियाले संयुक्तरुपमा आयोजना गरेको ‘महिला पत्रकारका लागि वातावरण तथा वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी एक दिने तालीम’ मा वक्ताहरुले हतारमा समाचार लेख्दा गलत सूचना आउने हुँदा सत्य बुझेर मात्रै लेख्नुपर्ने बताएका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक श्याम बजिमयाले पत्रकारले कुन वन्यजन्तु हो र त्यसको अवस्था के छ भन्ने वास्तविकता बुझेर मात्रै समाचार लेख्नुपर्ने बताउनुभयो । कहिलेकाहीँ बाघ हुँदा चितुवा र कहिले चितुवा हुँदा बाघ भनी समाचार आउने गरेको उहाँले बताउनुभयो । सरकारले लोपोन्मुख प्रजातिको जनावरको सङ्ख्या बढाउँदा उनीहरुको आहारामा समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मिडियाले पनि सरकार, निकुञ्जलगायत सबैको ध्यान जाने गरेर समाचार सम्प्रषण गर्नुपर्छ ।” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक प्रवीन पोखरेलले नेपाल प्रहरीले वन्यजन्तु अपराध सङ्गठनिक रुपमा अघि बढिरहेको औँल्याउनुभयो । अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेपछि यस क्षेत्रमा सुधार भइरहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “एकै वर्ष यस क्षेत्रमा धेरैलाई पक्राउ गरेर कानुनको दायरामा ल्याएको छ ।” सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले वातावरण र वन्यजन्तु अपराधसम्बन्धी विषयमा थोरै महिला पत्रकारले मात्रै समाचार लेख्ने गरेकाले उनीहरुलाई यस विषय बुझाउन र प्रोत्साहन गर्न विभिन्न जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
Categorized in राष्ट्रिय