STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जसपा ठाकुर पक्षमाथि जालसाजीको आरोप

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ५, शनिबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण फेरेकोप्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । यादवले पक्षले शनिबार विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले जालसाजी गरेको आरोप लगाएको हो ।

जसपा यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै ठाकुर पक्षले निर्वाचन आयोग, पार्टीपंक्तिलाई गुमराह गर्ने उद्देश्यले नक्कली बैठक ‍पुस्तिका तयार गरेर अनैतिक कार्य गरेको बताएका छन् ।

गत पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण निर्णयहरू सोही दिन अध्यक्षद्वय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसमा केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने निर्णय कतै नभएको प्रचार विभाग प्रमुख खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

'यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी झूटो विवरण लेखी किर्ने, जालसाजी गरी निर्णय भएको भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् । निर्वाचन आयोग पार्टीपंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्तो नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक गैरकानुनी तथा दण्डनीय कार्य हो' विज्ञप्तिमा भनिएको छ ।

Categorized in राजनीति